धनगढी । धनगढी क्रिकेट एकेडेमीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पवन अग्रवाल र प्रशिक्षक सुनोज भट्टराई सम्मान गरेको छ । शनिबार तेस्रो संस्करणको डीपीएलको उद्घाटन समारोहमा एकेडेमीले अग्रवाललाई ‘धनगढी क्रिकेट सम्मान’ र भट्टराईलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ बाट सम्मानित गरेको हो ।
सम्मान स्वरुप दुवैलाई एक एक लाख रुपैयाँ प्रदान गरिएको थियो । सम्मानित भएका भट्टराई नेपालको पहिलो आधिकारिक अन्तराष्ट्रिय प्रशिक्षक हुन् ।
राखेपका प्रशिक्षक समेत रहेका भट्टराई सन् १९९६ मा मलेसिया भएको एसीसी ट्रफीमा नेपाली टिमको प्रशिक्षक भएर गएका थिए । पुरस्कार लिदै प्रशिक्षक भट्टराईले डीपीएलले गरेको सम्मानबाट आफु खुसी रहेको बताए ।
'क्रिकेटले सम्झिएको छ । सुदुरपश्चि क्रिकेटमा निकै राम्रो भएको छ । क्रिकेटले शहरलाई चिनाएको छ । ठुलो सम्मान पाउदाँ खुसी छु ।' उनले भने ।
पुरस्कार लिदै पुर्व कप्तान अग्रवालले आफुले पाएको एक लाख रुपैयाँ फाप्ला क्रिकेट मैदान निर्माणमा दिने बताए ।
पुरस्कार लिदै पुर्व कप्तान अग्रवालले आफुले पाएको एक लाख रुपैयाँ फाप्ला क्रिकेट मैदान निर्माणमा दिने बताए । उनले सम्मानका लागि आयोजकलाई धन्यवाद दिए । 'सम्मानसंगै आएको नगद रुपैयाँ फाप्ला रंगशालाकालागि सहयोग गर्न चाहन्छु ।' उनले भने ।
प्रमुख अतिथि रहेका मुख्यमन्त्री त्रिलोचन भट्टले दुवैलाई सम्मान गरेका थिए । बर्षाका कारण प्रभावित डीपीएल सोमबारबाट मात्र सुरु हुनेछ । प्रतियोगितामा ६ फ्रेन्चाईज टिमलाई समावेश गरिएको छ ।