काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले दुई बर्ष देखि रोकिएको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको तलब पठाएको छ ।
नेपाल क्रिकेट संघ क्यान निलम्बनमा रहेको अवस्थामा रोकिएको खेलाडीको तलब आईसीसीले राष्ट्रिय खेलकुद परिषद राखेपको खातामा पठाएको हो ।
'राखेपको पटक पटकको पत्राचार पछाडी आईसीसीले खेलाडीको रोकिएको तलब पठाएको छ ।' राखेप सदस्य सचिव केशवकुमार विष्टले खेलपाटीसंग भने ।
राखेपले क्रिकेट खेलाडीसंग श्रेणीगत आधारमा सम्झौता गर्दै आईसीसीलाई नाम पठाएको थियो ।
सम्झौता अनुसार ए श्रेणीको खेलाडीले ३५ हजार, बी श्रेणीको खेलाडीले २५ हजार र सी श्रेणीको खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सम्झौता अनुसार आईसीसीले दुई बर्षबाट रोकिएको १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ खेलाडीको तलब राखेपलाई पठाएको छ ।
निलम्बन अगाडीले क्यानले खेलाडीलाई तीन श्रेणीमा विभाजन गरेर मासिक तलब दिन सुरु गरेको थियो । क्यान निलम्बनमा परेपछि राष्ट्रिय क्रिकेट टिमका खेलाडी बिना तलब अन्तराष्ट्रिय प्रतियोगिता खेल्दै आएका छन् ।
'ए' श्रेणीमा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन् ।
'बी' श्रेणीमा शक्ति गौचन, ललित भण्डारी, अनिलकुमार शाह, करण केसी, आरिफ शेख, रोहित पौडेल, ललितनारायण राजवंशी छन् ।
'सी' श्रेणीमा बिनोद भण्डारी, सुवास खकुरेल, सागर पुन, सुसन भारी, दिलिप नाथ, किशोर महतो, सुनिल धमला रहेका छन् ।
खेलाडीको रोकिएको तलब उपलब्ध गराउन राखेपले आईसीसीसंग विशेष पहल गर्दै आएको थियो ।