धनगढी । क्रिकेटको शहर धनगढीमा आयोजना हुने देशकै सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल) सधैँ चर्चामा रहन्छ ।
यतिबेला पुन: डीपीएल क्रिकेटको चर्चा चुलिएको छ । कारण, सुदुरपश्चिमको खेलकुदलाई चर्चामा पुर्याउन सफल डीपीएलको तेस्रो संस्करण सोमबारबाट सुरु हुँदैछ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सोमबार काठमाडौं गोल्डेन्स र धनगढी स्टार्सबीचको खेलसंगै डीपीएलको उपाधि होड सुरु हुनेछ । बर्षाको कारण दुई दिन सारिएको डीपीएलले १९ खेलपछि विजेताको टुंगो लाग्नेछ ।
डीपीएलमा सदा झैँ ६ टोलीले उपाधिका प्रतिस्पर्धा गर्नेछन् । यसपटक धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् । र, एक उपाधिका लागि ६ वटै टोलीले नजर लगाएका छन् ।
प्रतियोगिताको विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छ । यस्तोमा ६ वटै क्लबका कप्तान र उपकप्तानले उपाधि जित्ने दाबी गरेका छन् ।
सबै टोलीले तयारी राम्रो गरेको कारण उपाधि आफ्नो बनाउने बताएका छन् ।
डीपीएलको प्रतिस्पर्धा अघि ६ टोलीका कप्तान र उपकप्तान के भन्छन त ? उनीहरुकै शब्दमा :
सोमपाल कामी (कप्तान धनगढी स्टार्स )
उपाधि रक्षा गर्न चुनौती छ । हामीले सुरुमा र गत बर्ष ट्रफी जितेका छौं । यो तेस्रो पटक हुनेछ । त्यसैले हामीलाई दबाब भन्दा पनि चुनौती छ ।
नयाँ टिम ल्याएर खेल्दा चुनौती त भइहाल्छ । तर, हामी टिममा विश्वास गर्छौं ।
पानीको कारण क्याम्प भईरहेको छैन । नेट अभ्यास गर्न जाने योजनाहरु पानीले पुरा भएन । तर, खेलाडीहरुले फिटनेस क्याम्प गरिरहेका छ । होटलमा बसेर क्रिकेटकै बारेमा छलफल गरिरहेका छौं । खेलका लागि तयार छौं ।
दिपेन्द्र सिंह ऐरी (कप्तान, सिवाईसी अत्तरिया )
टिम तयारी राम्रो छ । विदेशी कोचहरु छन् त्यसले राम्रो प्रभाव पर्न सक्छ । विदेशी खेलाडी सन्नी पटेल र जयकिशन कोल्शावालाले डीपीएल र पीपिएल खेलिसकेका छन् । दुवै प्रतियोगितामा राम्रो प्रदर्शन गरेको थियो । मलाई लाग्छ राम्रो हुनेछ । हाम्रो टिम युवा टिम छ । सबैले राम्रो गरिरहेको छ । हाम्रो लक्ष्य उपाधि जित्ने रहेको छ ।
करण केसी (कप्तान, विराटनगर किंग्स)
तयारी राम्रो भईरहेको छ । बर्षाले अलिक बिगार्यो तर अभ्यासहरु राम्रो भईरहेको छ । टिम सन्तुलित छ । दुई विदेशी खेलाडी अभिनास यादव र शिवकान्त शुक्ला राम्रो छ । त्यो हाम्रो लागि बोनस जस्तै हो । तर, विदेशी खेलाडी धेरै निर्भर नहुँदा पनि टिम राम्रो छ ।
पहिलो पटक टिम कप्तान चुनिएको छु । खुशी लागेको छ । अब राम्रो प्रदर्शन गरेर अगाडी लैजाने योजना छ । टिमको लक्ष्य डीपीएल ट्रफी उचाल्ने रहेको छ ।
बिक्रम शोब (उपकप्तान, रुपन्देही च्यलेञ्जर्स)
तयारी राम्रो भईरहेको छ । टिम राम्रो छ । हाम्रो प्राय अधिकांस खेलाडी युएईमा रहेको थियो । तर, हामीले भैरहवामा तयारी गरिरहेका थियौं ।
७-८ दिनको क्याम्प राम्रो भयो । ब्याटिङ फिल्डिङ बलिङ सबै राम्रो छ । विदेशी खेलाडी बाबर हायत राम्रो छ । अर्को विदेशी खेलाडी पनि राम्रो छ । टिमको लक्ष्य उपाधि जित्ने नै रहेको छ ।
आरिफ शेख (उपकप्तान, महेन्द्रनगर युनाइटेड)
मौषमको कारण मैदानमा छिरेको छैन । तर, जिम र फिटमा तयारी गरिरहेका छौं । ट्रफी उठाउने लक्ष्य सबैको हुन्छ । हामीले पनि त्यहिँ अनुसार तयारी गरेका छौं । हाम्रो टिम एकदमै सन्तुलित छ । तर, जति सन्तुलित भएपनि मैदानमा देखाउनु पर्ने हुन्छ ।
अनिल कुमार साह (उपकप्तान,काठमाडौं गोल्डेन्स)
टिमको तयारी राम्रो छ । खेलाडीहरुले व्यक्तिगत रुपमा समेत तयारी गरेको छ । हाम्रो टिमको बलिङमा विविधता छ । ब्याटिङ लाइनअप पनि अन्तिमसम्म छ । अनुभवी खेलाडीहरु छ । विदेशी खेलाडीहरुको कारण पनि टिम सन्तुलित देखिएको छ ।
सबै टिमको चाहना ट्रफी जित्ने हुन्छ । जित्नु भन्दा पनि हामी राम्रो खेल्नुछ ।