काठमाडौं । भारतले आयोजना गरेको हिरो गोल्डकप फुटबलमा नेपालको राष्ट्रिय महिला फुटबल टिमले आज (शनिबार) म्यानमारसग खेल्दैछ । साफको तयारीमा रहेको नेपाल प्रतियोगिता खेल्न भारत पुगेको हो ।
वरियतामा आफु भन्दा माथि रहेको म्यानमारसंग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । उडियास्थित भुवनेश्वरमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवाँ ४ बजे सुरु हुनेछ ।
प्रतियोगितामा आयोजक भारत सहित नेपाल, म्यानमार र इरान रहेका छन् । साफ र ओलम्पिक छनोटको तयारी स्वरुप भारतले प्रतियोगिताको आयोजना गरेको हो ।
खेल अगाडी बोल्दै नेपाली टिमका मुख्य प्रशिक्षक हरी खड्काले बलिया टिमविरुद्ध नेपालले राम्रो चुनौती पेस गर्ने बताएका छन् । ‘हामी यहाँ बलिया टिम सँग सिक्न आएका हौँ । राम्रो खेल खेल्दै, कडा चुनौती दिन चाहन्छौँ ।’ उनले भनेका छन् ।
उनले नेपालले आफ्नो कमजोरीलाई सुधार गर्दै बलियो पक्ष प्रस्तुत गर्ने पनि बताए ।
पछिल्लो समय नेपाल र म्यानमार सन् २०२० मा हुने टोकियो ओलम्पिक छनोटको पहिलो चरणमा भिडेका थिए ।