काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरी खड्काले नेपाल ‘अन्डरडग’ टिम रहेको बताएका छन् । हिरो महिला गोल्डकप खेल्न भारत पुगेको प्रशिक्षक खड्काले प्रतियोगितामा बलिया टिम भएपनि नेपाल अन्डरडग टिम भएको दाबी गरे ।
‘वरियतामा भारत, म्यानमार, ईरान हामी भन्दा माथि छन् । तर हामी अन्डरडग टिम हौ ।’ उनले भने ।
नेपालको महिला टिमले भोली (शनिबार) म्यानमारसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवाँ ४ बजे सुरु हुनेछ ।
‘हाम्रो मुख्य लक्ष्य साफ जित्नु हो, हामी भारतमा बलिया टिमसंग सिक्न आएका छौ । हामी कडा चुनौती दिन्छौ । साथै सुन्दर खेल प्रर्दशन गछौ ।‘ उनले थपे ।
भारतले आसन्न साफ र ओलम्पिक छनोटलाई लक्षित गर्दै हिरो महिला कप आयोजना गरेको हो । प्रतियोगिता शनिबारबाट उडिसाको भुवनेश्वरमा सञ्चालन हुदैछ ।
प्रतियोगितामा नेपाल सहित आयोजक भारत, इरान र म्यानमार रहेका छन् ।
प्रतियोगिताको अघिल्लो दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक खड्काले प्रतियोगितालाई आफुले साफको तयारीको रुपमा लिएको बताए ।
‘कमजोरी सुधार गर्छाै । बलियो पक्ष प्रस्तुत गर्छाै ।’ उनले थपे, ‘विपक्षीलाई कडा चुनौती दिनेछौ ।’
नेपालले दोस्रो खेलमा २८ गते आयोजक भारतको सामना गर्नेछ । फागुन १ गते इरानसँग खेल्नेछ ।
राउण्ड रोविन आधारमा संचालन हुने प्रतियोगिताको शीर्ष दुई टोली फाईनल पुग्नेछ । फाइनल खेल फागुन ३ गते हुनेछ ।
नेपाली टिम झापामा ५ दिने क्लोज क्याम समापन बसेर भारत उडेको हो ।