काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगमा झम्सिखेल युथ क्लबले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा झम्सिखेलले ब्वाईज युनियन क्लबलाई पराजित गरेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा झम्सिखेलका लागि मन कुमार तामाङले विजयी गोल गरे ।
उनले खेलको २८ औं मिनेटमा ब्वाइज युनियनका गोलकिपर अगाडी बढेको अवस्थामा चिप गोल गरे ।
खेलको दोस्रो हाफमा ब्वाइज युनियन खेलमा फर्किने प्रयास गर्यो । तर पाएको मौका सदुपयोग गर्न नसक्दा पहिलो खेलमै हार ब्यहोर्न बाध्य भयो ।
खेलको दोस्रो हाफमा पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा ब्वाइज युनियन खेलमा फर्कन सकेन ।
खेलको म्यान अफ दि म्याच झम्सिखेलका गोलकिपर सुभाष मगर भए । उनले ५ हजार र मेडल प्राप्त गरे ।
जितपछि झम्सिखेलका प्रशिक्षक पुरुषोत्तम थापाले ब्वाईज युनियनविरुद्वको जित ऐतिहासिक भएको बताए । उनले लिग च्याम्पियन भईसकेको क्लबसंग खेल्न पाउनु राम्रो कुरा भएको बताए ।
'नतिजा आफ्नो पक्षमा आउदा खुसी छु । मुख्य लक्ष्य उपाधिनै हो ।' उनले भने ।
ब्वाईज युनियनका प्रशिक्षक रन्जित सिंहले राम्रो खेल्दा खेल्दै समेत हार्न पुगेको प्रतिक्रिया दिए । उनले विपक्षी टोलीको पोस्टमा लागेर फर्कनु, साथै पेनाल्टी मिस हुनुले भाग्यले विपक्षीलाई साथ दिएको बताए ।