काठमाडौं । धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिता डीपीएलमा विदेशी खेलाडीमा अनिवार्य गरिएको श्रम ईजाजत अर्को सिजनबाट मात्र लागु हुने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले विदेशी क्रिकेट खेलाडीलाई घरेलु क्रिकेट प्रतियोगितामा खेल्न कडाई गर्दै अनिवार्य श्रम ईजाजतको निर्देशन जारी गरेको थियो ।
डीपीएलका आयोजक सुबास शाहीले अन्तिम समयमा आएर श्रम मन्त्रालयको निर्देशन कार्यान्वयन गर्न नसकिने बताउका छन् ।
‘क्रिकेटलाई विकेन्द्रिकरण र प्रवद्र्वन गर्ने उद्वश्यले विदेशी खेलाडीलाई प्रतियोगितामा सहभागि गराएका छौ ।’ उनले भने, ‘यसमा व्यवसायीक उद्वेश्य भन्दा पनि क्रिकेटको विकास र विस्तारको उद्वेश्य जोडिएको छ । त्यही अनुसार खेलाडीलाई मनाएर प्रतियोगितामा सहभागि गराएका छौ ।’
सरकारले विदेशी खेलाडीमा अनिवार्य गरेको श्रम ईजाजतमा आफुले सक्दो सहयोग गर्ने बताउँदै अध्यक्ष शाहीले प्रतियोगिताका अन्तिम समयमा आएर यस सिजन कार्यान्वय गर्न नसकिएको बताए ।
सरकारले विदेशी क्रिकेटरलाई अनिवार्य श्रम स्विकृती लिन निर्देशन जारी गर्दै युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद राखेप लगायतमा पत्राचार गरेको थियो ।
श्रम ईजाजत नलिएर लिग क्रिकेट खेलाएको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उजुरी परेपछि श्रम मन्त्रालयले आवश्यक पहल अगाडी बढाएको हो ।
सरकारले फुटबलमा श्रम ईजाजत अनिवार्य गरेपनि क्रिकेटमा कार्यान्वयन गर्न सकेको छैन । पछिल्लो समय घरेलु क्रिकेटमा बढ्दो फ्रेन्चाईज लिगमा विश्व क्रिकेटका स्टार खेलाडी नेपाल आएर खेल्न थालेका छन् ।
राखेप सदस्य सचिव केशवकुमार विष्टले परिषदले बारम्बार अवगत गराएपनि आयोजकले अटेर गरेको बताए ।
‘पोखरामा समेत श्रमले रोक्न खोजेको थियो । तर ठुलो लगानी र देशको प्रतिष्ठाको बिषय भएकाले मैले रोकेको हुँ । तर बारम्बार भन्दा समेत आयोजकबाट अटेर गर्ने काम भएको छ ।’ उनले खेलपाटीसंग भने ।
‘श्रमले कडाई गरेको अवस्थामा मैले एक पटक कोशिश गर्नेछु । श्रमलाई नरोक भनौला तर यो सबै श्रम मन्त्रालयमा निर्भर रहन्छ ।’ उनले थपे ।
नेपालको क्रिकेट अन्तराष्ट्रिय निलम्बनमा भएको अवस्थामा नीजि क्षेत्रबाट फ्रेन्चाईजका प्रतियोगिता हुदै आएका छन् । सोही प्रतियोगिता खेलेको भरमा नेपाली क्रिकेटरले व्यक्तिगत जिवनयापन धान्दै आएका छन् ।