काठमाडौं । पाकिस्तानमा टी–ट्वान्टी सिरिज खेलेर नेपाल फर्किएको नेत्रहीन महिला क्रिकेटरको टोलीलाई सदस्य सचिव केशवकुमार विष्टले स्वागत गरेका छन् । पाकिस्तानमा पाँच म्याचको टी–ट्वान्टी सिरिज खेलेर नेपाली टिम आज दिउँसो काठमाडौं फर्किएको थियो ।
नेत्रहीन महिला क्रिकेट टिमलाई स्वागत गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव विष्ट विमानस्थल पुगेका थिए ।
पाकिस्तानविरुद्वको सिरिज नेपालले ४–० ले क्लिन स्विप गरेको थियो । एक खेल बर्षाका कारण रद्व भएको थियो । पाकिस्तानमा सिरिज विजेता नेत्रहीन क्रिकेटको सम्मानमा सरकारले विशेष निर्णय गर्ने भएको छ । नेत्रहीन क्रिकेटमा महिला टोलीले प्राप्त गरेको सफलताको सम्मानमा सरकारले बिशेष निर्णय गर्ने भएको हो ।
'परिषद र मन्त्रालयले आपसी छलफल गरेर नेत्रहीन महिला क्रिकेटरको सम्बन्धमा बिशेष निर्णय गर्ने भएको छ ।' राखेपका प्रेस सल्लाहाकार रोहित दाहालले भने ।
विमानस्थल ओर्लिए लगत्तै महिला खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर विशेष सम्मान गरिएको थियो ।
सिरिजसंगै नेपालले नगद १ लाख पाकिस्तानी रुपैयाँ प्राप्त गरेको थियाे ।
प्रतियोगितामा बि १ क्याटेगोरीमा नेपालकी मुना अर्याल, बि २ मा नेपालकी मनकेसी चौधरी र बि ३ मा नेपालकी बिनिता पुन उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
उनीहरुले समान २५ हजार पाकिस्तानी रुपी प्राप्त गरे ।