पोखरा । पोखरामा जारी मनकामना केबलकार पोखरा अन्तराष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज हुने भनिएको पहिलो सेमिफाइनल खेल स्थगित भएको छ ।
पोखरा रंगशालामा आज विभागीय टिम एपीएफ र रिस्सो विश्वविद्यालयबीच खेल हुने तालिका रहेको थियो । तर, लगातारको बर्षाको कारण खेल स्थगित गरिएको आयोजकले जनाएको छ ।
कास्की जिल्ला फुटबल संघका महासचिव रमेश कार्कीले लगातार बर्षाको कारण खेल स्थगित भएको खेलपाटीलाई बताए ।
‘मैदान हिलाम्मे रहेको छ । त्यसैले खेलाउने अवस्था आएन,' महासचिव कार्कीले खेलपाटीलाई भने । कार्कीका अनुसार एपीएफ र रिस्सोबीचको खेलबारे शुक्रबार तय हुनेछ ।
प्रतियोगिताको क्वाटरफाइनलमा एपीएफले रुस्लान थ्री स्टार क्लबलाई १–० ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो । यता, रिस्सो विश्वविद्यालयले नेपाल पुलिसको चुनौती पन्छाउँदै सेमिफाईनल यात्रा तय गरेको थियो ।
एपीएफको टोली मोफसलको प्रतियोगितामा फाईनल पुग्न सकेको छैन । रिस्सो पहिलो खेल खेल्न नेपाल आएको हो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा दाउफिन्स र मनाङ भिड्नेछन् ।