एजेन्सी । अतिरिक्त समयमा जित निकाल्दै वायर्न म्युनिख जर्मन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा हेर्था बर्लीनलाई ३-२ गोल अन्तरले पराजित गर्दै वायर्नले अन्तिम आठको यात्रा तय गरेको हो ।
हेर्था बर्लीनको मैदानमा वायर्नलाई जित दिलाउन सेर्गी गनाब्रेले दुई गोल गरे । यस्तै किंग्सले कोम्यानको नाममा एक गोल रह्यो । हेर्थाका म्याक्सिमिलियन मिटलस्टाट्स र डेभि सेल्केले एक एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले लिएको थियो । खेलको तेस्रो मिनेटमा मिटलस्टाट्सले गोल गर्दै हेर्थालाई सुरुवाती अग्रता दिलाए । तर, खेलको सातौं मिनेटमा वायर्नका गनाब्रेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
खेलको ४९ औं मिनेटमा गनाब्रेले व्यक्तिगत दोस्रो गोल गर्दै वायर्नलाई २-१ को अग्रता दिलाए । खेलको ६७ औं मिनेटमा हेर्थाका सेल्केले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकियो र खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा वायर्नका कोम्यान नायक बने । खेलको ९८ औं मिनेटमा कोम्यानले गोल गर्दै वायर्नलाई ३-२ को महत्वपूर्ण जित दिलाए ।