एजेन्सी । म्यान्चेष्टर सिटी, ईङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा एभर्टनलाई पराजित गर्दै म्यान्चेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
डिसेम्बर १६ पछि सिटी पहिलो पटक शीर्ष स्थानमा उभिन सफल भएको हो । लामो समय शीर्ष स्थान कब्जा गरेको लिभरपुलले लगातार बराबरी खेलपछि सिटीले शीर्ष स्थानमा आफुलाई राख्न सफल भयो ।
शीर्ष स्थानको सिटीको ६२ अंक छ । दोस्रो स्थानको लिभरपुलसंग समान अंक भएपनि गोल अन्तरका आधारमा सिटी शीर्ष स्थानमा उक्लिएको हो ।
डेबिड सिल्भाको पासलाई सदुपयोग गर्दै डिफेन्डर आयमेरिक लापोर्टेले पहिलो हाफको अन्तिम समयमा सिटीलाई सुरुवाती अग्रता दिलाए । ग्याब्रियल जिससले दोस्रो हाफको अन्तिम समयमा गोल गर्दै सिटीको जित सुनिश्चित गरे ।
'केही दिन अगाडी हामी सात अंक पछाडी थियौ । तर अहिले हामी शीर्ष स्थानमा छौ । यसको पाठ भनेको हो, कहिल्यै हार मान्नु हुदैन ।' सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, 'यो सबै खेलाडीका लागि राम्रो पाठ हो । खेल जित्न कोशिश गर्नपर्छ । किनकी जिवन एकै छिनमा परिवर्तन हुन सक्छ ।'