एजेन्सी । विश्व खेलकुद जति मनोरन्जनात्मक छ । त्यति नै विश्व खेलकुदले पीडादायी घटनाहरुको सामना गरेको छ । जसले विश्वलाई स्तब्ध बनाएको छ ।
'म्युनिख हवाई दुर्घटना' विश्व खेलकुदमा घटेको पीडादायी घटना मध्येको एक हो । जुन दुर्घटना सन् १९५८ को फेब्रुअरी ६ अर्थात् आजकै दिन घटेको थियो ।
इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडका खेलाडी चढेको विमान दुर्घटना नै ‘म्युनिख हवाई दुर्घटना’ हो । यस दुर्घटनालाई विश्वले बिर्सन नसकेको खेलकुद दुर्घटना मानिन्छ ।
उक्त दुर्घटनामा म्यानचेस्टरका ८ खेलाडी, ३ पदाधिकारीसहित २३ जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा युनाइटेडका जिओफ बेन्ट, रोगर बाइर्न, एडी कोलमन, मार्क जोन्स, डेभिड पेग, डुनकान एड्वार्ड्स, टमी टेलर र लियाम वेलनको निधन भएको थियो ।
यस्तै क्लबका सेक्रेटरी वाल्टर क्रिकमर, ट्रेनिङ स्टाफ टम करी र मुख्य प्रशिक्षक बर्ट वालेको निधन भएको थियो । त्यसबाहेक ८ पत्रकार, दुई यात्रु र दुई प्लेनको सदस्यले ज्यान गुमाएका थिए ।
बुधबारबाट म्युनिख हवाई दुर्घटना भएको ६१ वर्ष पूरा भएको छ । र, हवाई दुर्घटनाको सम्झनामा बुधबार विश्वभरिका फुटबल समर्थकहरुले ३ बजेर ४ मिनेटको समयलाई सम्झिएका छन् । विश्वभर श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
युरोपियन कप अन्तर्गत रेड स्टार बेलग्रेडसँगको खेल खेलेर इंग्ल्यान्ड फर्कदै गर्दा जर्मनीको म्युनिखमा उक्त दुर्घटना भएको थियो । म्युनिखमा हिमपात भइरहेको समयमा विमान उडाउने प्रयास गर्दा विमान धावनमार्गबाट उछिट्टिएर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा युनाइटेडका ९ खेलाडी र एक प्रशिक्षक बाँचेका थिए ।
म्युनिख दुर्घटना अघि युनाइटेड युरोपमै उत्कृष्ट टिम रहेको थियो । युनाइटेडले शीर्ष डिभिजनको लिगमा आफ्नो एकतर्फी राज गरिरहेको थियो । त्यो समय युनाइटेडलाई प्रशिक्षक म्याट बस्बीको नाम ‘बस्बी बेब्स’ को नामले समेत चिनिन्थ्यो ।
उक्त दुर्घटनापछि भने युनाइटेडलाई लयमा फर्कन करिब ६ बर्ष लागेको थियो । दुर्घटनापछि बिस्तारै लयमा फर्किएको युनाइटेडले विश्वको उत्कृष्ट टोलीको रुपमा आफुलाई स्थापित गरिसकेको छ । युनाइटेडको उक्त सफलता दुर्घटनामा बाचेका प्रशिक्षक म्याट बस्बीको हात ठुलो रहेको मानिन्छ ।