काठमाडौँ । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लब पोखरामा जारी मनकामना केबलकार पोखरा अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बुधबार भएको अन्तिम क्वाटरफाइनलमा ब्रिगेड ब्वाइजलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो ।
खेलको निर्धारित र अतिरिक्त समय १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा मनाङ सफल हुँदै सेमिफाइनलमा पुग्न सफल भयो ।
१० खेलाडीमा सिमित भएको ब्रिगेडले मनाङलाई खेल अवधि भर रोक्न सफल भएको थियो । तर, पेनाल्टीमा पदम भट्टराईले गोल गर्न नसक्दा ब्रिगेड पराजित भयो । पदमको प्रहार मनाङका किपर विशाल श्रेष्ठले बचाएका थिए । ब्रिगेडको सुरज ठकुरी, रन्दिप पौडेल, जय गुरुङ र मनोज राईले गोल गरेका थिए ।
मनाङको लागि सुजल श्रेष्ठ, हेमन गुरुङ, कमल श्रेष्ठ, प्रकाश बुढाथोकी र सुरज विश्वकर्माले गोल गरेका थिए ।
प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता भने ब्रिगेडले लिएको थियो । खेलको १५ औं मिनेटमा रितिक खड्काले गोल गर्दै ब्रिगेडलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको दोस्रो हाफमा मनाङ खेलमा फर्कियो । खेलको ६७ औं मिनेटमा विमल रानाले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।
यस्तै ८८ मिनेटमा ब्रिगेड १० खेलाडीमा सिमित भएको थियो । ब्रिगेडका गोलकिपर लक्की कार्कीले रातो कार्ड खाएपछि ब्रिगेड १० खेलाडीमा समेटिएको हो । मनाङका आफिजलाई डिबक्सबाहिर फल गरेपछि रेफ्री प्रकाश नाथ श्रेष्ठले लक्कीलाई रातो कार्ड देखाएका थिए ।
योसंगै सेमिफाइनल समीकरण पुरा भएको छ । अब मनाङले फाइनल प्रवेशका लागि क्यामरुनको दाउफिन्ससंग खेल्नेछ । यस्तै विभागीय टिम एपीएफले जापानको रिस्सो विश्वविद्यालयसंग खेल्नेछ ।