काठमाडौं । मनकामना केबलकार पोखरा अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइन खेलमा अहिले लिग विजेता मनाङ मर्स्याङ्दी र ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफको खेलमा ब्रिगेडले १–० को अग्रता बनाएको छ । ब्रिगेडका लागि रितिक खड्काले गोल गरे । रितिकले खेलको १५ औं मिनेटमा गोल गरेका हुन् ।
खेलको २३ औं मिनेटमा मनाङका विदेशी खेलाडी आफिज ओलावालले डिबक्स बाहिरबाट गरेका प्रहार पोष्ट नजिकैबाट बाहिरियो । खेलको ४० मिनेटमा मनाङका हेमन गुरुङको फ्रिकिक ब्रिगेड गोलकिपरले उत्कृष्ट बचाउ गरे । सुजल श्रेष्ठको कप्तानीमा रहेको मनाङले खेलको पहिलो हाफमानै विमल रानाको स्थानमा विशाल राईलाई मैदान प्रवेश गराएको छ ।
मनाङ मदन भण्डारी स्मृति इटहरी गोल्डकपको मनाङ उपविजेता टिम हो । फाइनलमा मनाङ क्लब विभागीय टिम आर्मीसँग २–० ले पराजित भएको थियो । बिग्रेडले आयोजक क्लबलाई १–० ले अन्तरले हराएर अन्तिम ८ मा प्रवेश गरेकोे थियो ।
विभागिय एपीएफ, क्यामरुनको दाउफिन्स र जापानको रिस्सो विश्वविद्यालयले सेमिफाइनल यात्रा तय गरिसकेका छन् । प्रतियोगिताको विजेताले ७ लाख ५५ हजार पाउनेछ । उपविजेतालाई ४ लाख ५ हजारमा चित्त बुझाउने छ ।