एजेन्सी । घरेलु टोली न्युजिल्याण्डले पहिलो टी-ट्वान्टी क्रिकेटमा भारतलाई पराजित गरेको छ । बुधबार भएको पहिलो खेलमा न्युजिल्याण्डले भारतलाई ८० रनले हराएको हो ।
विलिङटनमा न्युजिल्याण्डले दिएको २२० रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारत १९ ओभर २ बलमा अलआउट हुँदै १३९ रनमा समेटियो ।
भारतका लागि महेन्द्र सिंह धोनीले सर्वाधिक ३९ रन जोडे । यस्तै शिखर धवनले २९, विजय शंकरले २७ तथा हार्दिक पाण्डयले २० रन जोडे । भारतलाई सस्तैमा समेट्न न्युजिल्याण्डका टिम साउथेले ३ तथा लक्की फर्गुसन,इश सोधी र मिचेल स्टाननरले २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर २१९ रन बनाएको थियो ।
न्युजिल्याण्डका लागि टिम सेइफर्टले ८४ रनको अर्धशतकीय इनिङस खेले । यस्तै कोलिन मुन्रो र कप्तान केन विलियम्सनले समान ३४/३४ रन जोडे । त्यस्तै रोस टेलरले २३ रन बनाए । भारतका हार्दिक पाण्डयले २ विकेट लिए ।
जितसंगै न्युजिल्याण्डले भारतविरुद्ध तीन खेलको टी-ट्वान्टी सिरिजमा १-० को अग्रता बनाएको छ । घरेलु टोली न्युजिल्याण्डविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज भने भारतले ४-१ ले जितिसकेको छ ।