एजेन्सी । बोरुसिया डर्टमण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । मंगलबार राति भएको खेलमा वेर्डेर ब्रेमेनसंग पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
बुन्डेस लिगा लिग लिडर डर्टमण्डको मैदानमा भएको खेलमा निर्धारित समय १-१ र अतिरिक्त समयमा ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा ब्रेमेन सफल हुँदै प्रतियोगिताको क्वाटरफाईनलमा स्थान बनाउन सफल भयो ।
डर्टमण्डका पाको अल्कासर र म्याक्सीमिलियन फिलिपेले पेनाल्टीमा गोल गर्न सकेनन् । डर्टमण्डका एलेक्स विसल ए जुलियन वेइगलले पेनाल्टीमा गोल गरे । ब्रेमेनका क्लाउडीयो पिजारो,म्याक्सीमिलियन एगिस्टन,डेभि क्लासेन र म्याक्स क्रुसले पेनाल्टीमा गोल गरे ।
पेनाल्टी अघि खेलको पाँचौ मिनेटमा मिलोट राशिकाले गोल गर्दै ब्रेमेनलाई अग्रता दिलाएका थिए । खेलको ४५ औं मिनेटमा मार्क रीउसले गोल गर्दै डर्टमण्डलाई खेलमा फर्काए ।
निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गयो । अतिरिक्त समयको पाँचौ मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गर्दै डर्टमण्डलाई २-१ अग्रता दिलाए । आठौं मिनेटमा ब्रेमेनका क्लाउडीयो पिजारोले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।
खेलको १३ औं मिनेटमा हाकिमीले गोल गर्दै पुन डर्टमण्डलाई ३-२ को अग्रता दिलाए । तर, खेलको १९ औं मिनेटमा ब्रेमेनका मार्टीन हेर्निकले गोल गरेपछि खेल ३-३ को बराबरीमा सकियो । र, खेल पेनाल्टी सुटआउटमा गएको थियो ।