काठमाडौं । नेपालमा अन्तराष्ट्रिय क्रिकेट सिरिज खेलाउन अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले तयारी सुरु गरेको छ । नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त गरेपछि आईसीसीले नेपालमा पहिलो पटक अन्तराष्ट्रिय सिरिज गराउन तयारी सुरु गरेको हो ।
नेपालमा अन्तराष्ट्रिय सिरिजको तयारी र निरीक्षणको लागि आईसीसीको एक टोली नेपाल आईपुगेको छ । आईसीसीका नेपाल प्रतिनिधि भावना घिमिरेले नेपालमा अन्तराष्ट्रिय सिरिज गराउने विषयमा अध्ययन गर्न आईसीसीका प्रतिनिधि एण्डी अड्किङसन नेपाल आएको जानकारी गराईन्।
'अन्तराष्ट्रिय सिरिज खेलाउन भौतिक पूर्वाधार, दर्शक क्षमता, आउट फिल्ड जस्ता कुरा आईसीसीको मापदण्ड अनुसार हुनु जरुरि छ,' घिमिरेले खेलपाटीसंग भनिन्, 'त्यसैले किर्तिपुर मैदानको अवस्था के कस्तो छ र के के सुधार गर्नु पर्ने हो त्यसको निरिक्षण गर्न आईसीसी टिम नेपाल आएको हो ।'
आईसीसीका प्रतिनिधि अड्किङसनले मंगलबार टियु क्रिकेट मैदान पुगेर मैदानको पिच, आउट फिल्ड, भौतिक पूर्वाधार लगायतको अवलोकन गरेका थिए ।
आईसीसीका नेपाल प्रतिनिधि घिमिरेका अनुसार अड्किङसनले टियु मैदानको अवस्थाबारेको रिपोर्ट आईसीसीलाई बुझाउने छन् । उक्त रिपोर्ट अनुसार सिरिजका लागि मैदानको मर्मत र पुनर्निर्माण गर्नुपर्ने बिषयको जानकारी हुने र त्यहिँ अनुसार निर्माण गर्ने घिमिरेले बताईन् ।
'एकदिवसीय मान्यता पाएपछि नेपालले सिरिजको आयोजना गर्नु पर्छ । उक्त सिरिजका लागि मैदानको रिपोर्ट बनाउन आईसीसी प्रतिनिधि नेपाल आएको हो । के कति काम गर्नु पर्ने हो अध्ययन पछि थाहा हुनेछ,' घिमिरेले भनिन् । यस्तै घिमिरेले नेपालले आयोजना गर्ने सिरिज २०१९ मै हुने बताईन् ।
विश्वकप छनोटबाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि नेपालले यसै साता युएईविरुद्ध उसैको मैदानमा ३ खेलको एकदिवसीय र टी-ट्वान्टी सिरिज खेलेको थियो । जसमा नेपालले दुवै सिरिज जितेर ऐतिहासिक सफलता प्राप्त गरेको थियो ।