काठमाडौं । जापानको रिस्सो विश्वविद्यालयको टिम पोखरामा जारी मनकामना केबलकार पोखरा अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको क्वाटरफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराउँदै रिस्सो विश्वविद्यालयले अन्तिम चारको यात्रा तय गरेको हो ।
पोखरा रंगशालामा भएको खेलमा रिस्सोका लागि यासुताका सुजुकीले निर्णायक गोल गरे । सुजुकीले खेलको १९ औं मिनेटमा निर्णयक गोल गरेका थिए । पहिलो हाफमा पुलिसविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको जापानीज टिम दोस्रो हाफमा भने सुस्त देखिएको थियो ।
दोस्रो हाफमा पुलिसले पनि केहि गोलको अवसर पाएको थियो । तर, निर कुमार राई, तिर्थ रानाले पाएको केहि गोलको अवसर सदुपयोग गर्न नसक्दा पुलिस प्रतियोगिताबाट बाहिरिन पुग्यो ।
अब फाइनल प्रवेशको लागि रिस्सोले विभागीय टोली एपिएफको सामना गर्नेछ । योसँगै दुई विदेशी क्लबले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । यसअघि सोमबार त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै क्यामरुनी दाउफिन्स फेमीली सेमिफाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगिता अन्तर्गत बुधबार मनाङ मर्स्याङदी र ब्रिगेड ब्वाइज क्लब भिड्नेछन् ।
प्रतियोगिताको विजेताले ७ लाख ५५ हजार पाउनेछ । उपविजेताले ४ लाख ५ हजार पाउनेछ ।