काठमाडौं । नेपालमा दोस्रो पटक हुन लागेको युरोपियन क्लब एसी मिलानको जुनियर फुटबल क्याम्प आगामी चैत अन्तिम साता आयोजना हुने भएको छ ।
आयोजक एटलान्टिक स्पोर्ट्स म्यानेजमेन्टले मंगलबार पत्रकार सम्मेलन गर्दै फुटबल क्याम्प चैत २४ देखि ३० सम्म आयोजना हुने जनाएको हो । क्याम्प सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने म्यानेजमेन्टका संयोजक थमन भुसालले जानकारी गराए ।
क्याम्पमा ७ देखि १७ बर्ष मुनिका खेलाडीहरु सहभागी हुन पाउने छन् । क्याम्पमा सहभागी जनाउन खेलाडीको तय भने भएको छैन् । क्याम्पका लागि इटालियन क्लब एसी मिलानबाट ५ प्रशिक्षकहरु नेपाल आउने आयोजकले जनाएको छ ।
यस्तै आयोजकले यसपटकको क्याम्पमा सहभागिता जनाउन लाग्ने शुल्क घटाइने जनाएको छ । अघिल्लो पटक एक खेलाडीले ३२ हजार शुल्क तिरेको थियो ।
क्याम्पमा उत्कृष्ट हुने १ खेलाडीले इटालीमा रहेको एसी मिलान फुटबल क्लबमा एक हप्ताको प्रशिक्षण गर्ने मौका पाउने छ ।यस्तै एन्फाको सिफारिसमा परेको गरिब र जेहेन्दार एक खेलाडीलाई क्याम्पको लागि छात्रवृति प्रदान गरिने छ ।
यसअघि म्यानेजमेन्टले सन् २०१७ मा जुनियर क्याम्प आयोजना गरेको थियो । जसमा १२५ खेलाडी सहभागी भएका थिए । उक्त क्याम्पका लागि इटाली र एसी मिलानका पुर्व खेलाडी डेभिड कोर्टे, एसी मिलान फुटबल क्याम्प तथा एसी मिलान टेक्निकल डिरेक्टर ड्यानिएल पाकागनान, निकोलस फाकोली, पाउलो कार्ली र आन्द्रे निकोली नेपाल आएका थिए ।
यसपटक भने खेलाडीको नाम पठाएपछि नेपाल आउने प्रशिक्षकहरुको तय हुने आयोजकले जनाएको छ ।