काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तयारीमा रहेको टिम विराटनगर किंग्सलाई श्री एयरलायन्सले प्रायोजन गरेको छ ।
डीपीएलको फ्रेन्चाइज टिम विराटनगरलाई श्री एयरलायन्सले एक बर्षको लागि मुख्य प्रायोजन गरेको हो । मंगलबार विराटनगर र श्री एयरलायन्सबीच सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । श्री एयरलायन्सका प्रतिनिधि अनिल मानन्धर र विराटनगरको मालिक प्रफुल्ल बैद्यले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौताको रकम भने खुलाईएको छैन् । सम्झौतासंगै विराटनगरले श्री एयरलायन्स विराटनगरको नामबाट डीपीएल खेल्नेछ ।
यस्तै विराटनगरले विदेशी खेलाडीको रुपमा भारतका प्रथम श्रेणीको क्रिकेटर अभिनास यादव र शिवकान्त शुक्लालाई अनुबन्ध गरेको जनाएको छ । यादव देब्रेहाते स्पिनर र शुक्ला देब्रेहाते ब्याट्सम्यान हुन् ।
रणजी ट्रफी खेलिसकेका यादवले २५ प्रथम श्रेणीको क्रिकेटमा ७३ विकेट र शुक्लाले ८५ प्रथम श्रेणीको क्रिकेटमा ४ हजार बढी रन पुरा गरिसकेका छन् ।
विराटनगरको रणनीतिक खेलाडी करण केसी रहेका छन् । यस संस्करणको डीपीएल आगामी माघ २६ गतेबाट धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुदैछ ।
देशकै सर्वाधिक पुरस्कार राशीको डीपीएलमा विराटनगरसहित धनगढी स्टार्स, सीवाईसी अत्तरीया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड र काठमाडौं गोल्डेनले प्रतिस्पर्धा गर्ने छन् ।
टी-ट्वान्टी आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टिमले एक अर्को टोली प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोली प्ले अफमा छनोट हुनेछ । पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।
विराटनगर टिम :
करण केसी,कुशल भुर्तेल,अर्जुन अधिकारी, किशोर महतो ,आसिफ शेख, राजेश पुलामी मगर ,महोमद संसद शेख,पृथु बास्कोटा
हरी शंकर साह, सुशन भारी श्रेष्ठ,अमृत गुरुङ, तृत राज दास, सुबाश अयर,अभिनास यादव , शिवकान्त शुक्ला