काठमाण्डौ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले छिट्टै नेपाल क्रिकेट परिषद् क्यानमाथि लगाएको निलम्बन फुकुवा गर्ने बताएका छन् ।
काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री विश्वकर्माले आईसीसीले दिएको रोडम्याप अनुसार क्यानको ५ सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको बताए ।
राजनीतिक हस्तक्षप र अपारदर्शी निर्वाचनको कारण देखाउँदै आईसीसीले गत बैशाखमा क्यानलाई निलम्बन गरेको थियो ।
आईसीसीका अनुसार क्यानको विधान संशोधन भईसकेको बताउँदै मन्त्री विश्वकर्माले क्यानका निर्वाचित पदाधिकारीले अदालतको मुद्धा फिर्ता नलिदाँ निलम्बन फुकुवामा ढिलाई भएको बताए ।
सरकारकै पहलमा निर्वाचित पदाधिकारीलाई मुद्धा फिर्ताको निवेदन दिन लगाईएको दाबी गर्दै उनले प्रक्रियागत तरिकाले क्यानमाथिको निलम्बन फुकुवा हुने बताए ।
मन्त्री विश्वकर्माले मुलपानी क्रिकेट मैदान साँढे दुई वर्षभित्र निर्माण सम्पन्न गरिने दावी गरे । आफु मन्त्री हुनुअघिको सबै समस्या समाधान गरेर निर्माण प्रक्रिया सुरु भईसकेको उनले जानकारी दिए ।
‘जग्गा विवाद समाधानको प्रस्ताव मन्त्रीपरिषदले पास गरेर बजेटका लागि अर्थ मन्त्रालयमा प्रस्ताव लगेको छु । अर्थले प्रस्ताव स्विकार गर्नासाथ टेण्डर आव्हान गर्छौ ।’ उनले भने ।
मन्त्री विश्वकर्माले आगामी सेप्टेम्बरमा हुने १३ औँ दक्षिण एसियाली खेलकूद साग सम्पन्न गर्नका लागि सरकार तिब्रताका साथ अघि बढेको बताए ।
‘१३ औँ साग पहिलो प्राथमिकतामा छ । कार्ययोजना बनाएर काम गरिरहेका छाैँ । पूर्वाधान बनाएर प्रतियोगिता गराउनु चुनौतिपूर्ण छ । तर पनि हामी समयमै काम सम्पन्न गर्न लागिपरेका छौँ ।’ मन्त्री विश्वकर्माले भने ।
सागको तयारी गर्दै भुकम्पले क्षतिग्रस्त बनाएको दशरथ रंगशाला पुर्ननिर्माणको काम अन्तिम चरणमा पुगेको मन्त्री विश्वकर्माले जानकारी दिए ।