काठमाडौं । मनकामना केबलकार पोखरा अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा आज (मंगलबार) विभागीय नेपाल पुलिस क्लब र जापानको रिस्सो विश्वविद्यायल भिड्दै छन् ।
पोखरा रंगशालामा हुने दिउँसो साढे २ बजे सुरु हुनेछ । पोखराको एक मात्र प्रतियोगिता खेल्न जापानको रिस्सो विश्वविद्यालय गत आइतबार नेपाल आएको हो ।
तेस्रो क्वाटरफाइनलमा दुवै टिम जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्न चाहन्छन् । ए डिभिजन लिगमा छैठौँ स्थानको रहदै पुलिसले लिगको अन्त्य गरेको थियो ।
जापानको शीर्ष डिभिजन लिगका लागि खेलाडी उत्पादन गर्ने एकेडेमीका खेलाडी सम्मिलित रिस्सोले जापानी फुटबलको सुगन्ध पोखरा रंगशालामा छर्ने प्रयास गर्नेछ ।
रिस्सो विश्वविद्यालयका नेपाल प्रतिनिधि बसन्त गौचनका अनुसार रिस्सो टिम प्रतियोगिता जित्नकै लागि नेपाल आएको हो ।
‘प्रतियोगिता जित्नकै लागि भनेर नेपाल आएका हौ ।’ उनले भने ।
उनका अनुसार रिस्सो टिमले नेपालमा एक मात्र प्रतियोगिता खेल्नेछ ।
युवा टिमले भरिएको विभागीय टिम पुलिस क्लबले लिग उपविजेता संकटालाई हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको थियो ।
पुलिसले मोफसलकै सर्बाधिक पुरस्कार राशीको खप्तड गोल्डकप जितेको छ ।
सोमबार त्रिभुवन आर्मी क्लबलाई ४–१ गोलले पराजित गर्दै क्यामरुनी दाउफिन्स फेमिलि सेमिफाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगिताको विजेताले ७ लाख ५५ हजार पाउनेछ । उपविजेतालाई ४ लाख ५ हजारमा चित्त बुझाउने छ ।
प्रतियोगितामा ए डिभिजन क्लब सहित ११ टिमको सहभागिता रहेको छ ।