काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपालमा एकदिवसीय सिरिज हुने सम्भावना रहेको बताएका छन् ।
युएईविरुद्धको एकदिवसीय र टी-ट्वान्टी सिरिज खेलेर स्वदेश फर्किएपछि कप्तान पारसले घरेलु मैदानमा सिरिजको तयारी भईरहेको बताए ।
'हामीले युएईमा राम्रो क्रिकेट खेल्न सफल भयौं । युवा खेलाडी र टिमले एकदमै राम्रो गर्यो,' कप्तान पारसले विमानस्थलमा भने,'हामी नेपालमा सिरिज गर्ने तयारी गरिरहेका छौ । मैदान निरिक्षण गर्न आईसिसीको टिम नेपाल आउदैछ ।'
नेपालमा अन्तराष्ट्रिय क्रिकेट सिरिज गराउन अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसिसी) को टोली नेपाल आउने छ ।
आईसिसीको टोलीले टियु क्रिकेट मैदानको मैदान निरिक्षण गर्नेछ । मैदानको निरिक्षणपछि आईसिसीले सिरिज हुने नहुनेबारे तय गर्नेछ ।
विश्वकप छनोटबाट चार बर्षको लागि एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको नेपालले दुई एकदिवसीय सिरिज खेलिसकेको छ ।
नेपालले युएईविरुद्धको एकदिवसीय र टी-ट्वान्टी सिरिज जित्दै ऐतिहासिक सफलता प्राप्त गरिसकेको छ ।
नेपालले नेदरल्याण्डविरुद्ध खेलेको पहिलो एकदिवसीय सिरिज भने १-१ को बराबरी भएको थियो ।