काठमाडौं । क्यामरुनी क्लब दाउफिन्स फेमिली पोखरामा जारी मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा सोमबार भएको खेलमा दाउफिन्सले विभागीय त्रिभुवन आर्मी क्लबलाई ४–१ गोलले पराजित गर्याे ।
लगातार मोफसल प्रतियोगिताले आफ्नो दोस्रो रोजाइका खेलाडीलाई मैदान उतारेको आर्मीले विदेशी टिमविरुद्ध प्रभावशाली खेल पस्कन सकेन ।
पहिलो पटक मोफसलको सेमिफाइनल पुगेको दाउफिन्सको लागि यान्निक ओवोनले महत्वपुर्ण दुई गोल गरे । यान्निकले पहिलो हाफको अन्तिम मिनेट र खेलको ६० मिनेटमा गोल गरे । यस्तै अर्मेल अहन्दाले ६८ औं मिनेट र ओका बोटाले खेलको इन्जुरी समयमा गोल गरको थिए । आर्मीका लागि एक मात्रै गोल खेलको इन्जुरी समयमा विवेक बस्नेतले गरे ।
क्वाटरफाइनलमा पराजित भएपछि आर्मी क्बलका प्रशिक्षक गंगाराम देउजाले विदेशी टिम राम्रो भएको साथै आफ्नो दोस्रो रोजाइको खेलाडीले राम्रो खेल पस्कन नसकेको बताए ।
‘इटहरी गोल्डकप जितेपछि लगातारको प्रतियोगिताले हामीले पहिलो रोजाइको खेलाडीलाई आराम दियौँ । त्यसैले नतिजा आएन,' प्रशिक्षक देउजाले भने ।
यस सिजन २ उपाधि जितिसकेको आर्मी पहिलो पटक क्वाटरफाइनलबाट बाहिरिएको हो । यसअघि आर्मीले विशाल मेमोरियल र मदन भण्डारी स्मृति इटहरी गोल्डकप जितिसकेको छ भने सिमरा गोल्डकप र फिदिम गोल्डकपको उपविजेता समेत हो ।
यस अघिको खेलमा दाउफिन्सले च्यासल युथ क्लबलाई १–० ले पराजित गर्दै आर्मीसँगको भेट तय गरेको थियो ।
प्रतियोगिताको विजेताले ७ लाख ५५ हजार र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता अन्तर्गत मंगलबार विभागीय नेपाल पुलिस र रिस्सो विश्वविद्यायलबीच खेल हुनेछ ।