काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय र टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएका छन् ।
युएईविरुद्ध एकदिवसीय र टी-ट्वान्टी सिरिज जित्दै ऐतिहासिक सफलता प्राप्त गर्न सफल नेपाली टोली अपरान्ह नेपाल आईपुगेको हो ।
ऐतिहासिक सिरिज विजेता टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्रि जगत बहादुर बिश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिब केशब कुमार बिष्ट, उपाध्यक्ष पिताम्बर तिमल्सिना लगायतले स्वागत गरेका थिए ।
नेपाली टोलीलाई रेड कार्पेटमा स्वागत गरिएको थियो । यस्तै खेलाडीको स्वागतमा सयौं समर्थकहरु विमानस्थल पुगेका थिए ।
घरेलु टोली युएईविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र टी-ट्वान्टी सिरिज समान २-१ ले जितेको थियो । दुवै सिरिजको सुरुवाती खेल गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई सिरिज आफ्नो बनाएको थियो ।
नेपाली टोलीका लागि दुवै सिरिज ऐतिहासिक सिरिज हो । नेपालले पहिलो पटक एकदिवसीय र टी-ट्वान्टी सिरिज जितेको थियो ।
आईसीसीबाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि नेपालले युएईविरुद्ध दोस्रो एकदिवसीय सिरिज खेलेको हो । यस्तै नेपालले दुई खेलको टी-ट्वान्टी सिरिजपछि पहिलो पटक टी-ट्वान्टी सिरिजमा कब्जा जमाउन सफल भएको हो ।