काठमाडौं । घरेलु टोली पाकिस्तानविरुद्धको पाँच खेलको महिला नेत्रहीन टी-ट्वान्टी क्रिकेट सिरिज नेपालले क्लिन स्विप गरेको छ ।
सोमबार भएको पाँचौ तथा अन्तिम टी-ट्वान्टीमा पाकिस्तानलाई ९ विकेटले हराउँदै नेपालले सिरिज ४-० ले क्लिन स्विप गरेको हो ।
इस्लामावादमा पाकिस्तानले दिएको १२७ रनको लक्ष्य नेपालले १० ओभर ४ बलमा १ विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा मनकेसी चौधरीले ८१ रनको अर्धशतकीय इनिस खेलिन । उनको यो दोस्रो अर्धशतक हो । यस्तै आशा रेग्मीले ३२ रन जोडिन ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १२६ रन जोडेको थियो । पाकिस्तानका लागि ओपनर तायब्बा फतिमाले २७ रन जोडिन् । पाकिस्तानक ६ खेलाडी रन आउट भएका थिए ।
सिरिज अन्तर्गत नेपालले यसअघि पहिलो र तेस्रो खेलमा १० विकेटको जित निकालेको थियो । दोस्रो खेल भने बर्षाको कारण रद्द भएको थियो । तेस्रो खेलमा नेपालले ९ विकेटको जित निकालेको थियो ।
सिरिज जितेसंगै नेपालले नगद १ लाख पाकिस्तानी रुपी प्राप्त गरेको छ । पाकिस्तानले ५० हजारमा चित्त बुझाएको छ ।
प्रतियोगितामा बि १ क्याटेगोरीमा नेपालकी मुना अर्याल, बि २ मा नेपालकी मनकेसी चौधरी र बि ३ मा नेपालकी बिनिता पुन उत्कृष्ट खेलाडी घोषित भए ।
उत्कृष्ट विकेट किपर भने पाकिस्तानकी किरन राफिक घोषित भईन । उनीहरुले समान २५ हजार पाकिस्तानी रुपी प्राप्त गरे ।