एजेन्सी । भारतीय क्रिकेट कप्तान विराट कोहली एकदिवसीय क्रिकेटको ब्याट्सम्यानतर्फको नयाँ वरीयतामा शीर्ष स्थानमा यथावत रहन सफल भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सोमबार निकालेको नयाँ वरीयतामा कोहली शीर्ष स्थानमा कायम रहेका हुन् । आईसीसीले निकालेको नयाँ वरीयतामा कोहलीले ८८७ अंक प्राप्त गरेका छन् ।
कोहलीले भारतकै रोहित शर्मालाई पछि पार्दै शीर्ष स्थानमा कायम रहन सफल भएका हुन् । वरीयताको दोस्रो स्थानमा रहेका रोहितले ८५४ अंक प्राप्त गरेका छन् ।
यस्तै न्युजिल्यान्डका रोज टेलर ८२१ अंकसहित तेस्रो स्थानमा रहदा इंग्ल्यान्डका जोय रुट्स ८०७ अंकसहित चौंथो र पाकिस्तानका बाबर अजम ८०१ अंकसहित पाँचौ स्थानमा रहेका छन् ।
नयाँ वरीयतामा दक्षिण अफ्रिकाका फाप डु प्लेसिसी, वेष्ट इण्डिजका शाइ होप,दक्षिण अफ्रिकाका क्विनटन डी कक,पाकिस्तानका फखर जमान र भारतका शिखर धवन छैटौंबाट क्रमश दशौं स्थानसम्म रहेका छन् ।
एकदिवसीय क्रिकेटको बलिङतर्फ भारतका जस्प्रित बुम्राह शीर्ष स्थानमा यथावत रहेका छन् । उनले ८०८ अंक पाएका छन् । बलिङतर्फ दोस्रो स्थानमा रहेका अफगानिस्तानका रासिद खानले ७८८ अंक जोडेका छन् भने न्युजिल्यान्डका ट्रेण्ड बोल्ट ७३२ अंकसहित तेस्रो स्थानमा रहेका छन् । भारतका कुलदीप यादव र भारतकै युजभेन्द्र चाहल पाँचौ स्थानमा रहेका छन् ।
नयाँ वरीयताको ब्याटिङमा नेपालका कुनै पनि ब्याट्सम्यानले शीर्ष १०० भित्र स्थान बनाउन सकेको छैन । बलिङतर्फ नेपालका सन्दीप लामिछाने १३४ औं स्थानमा रहेको आईसीसीले जनाएको छ । यस्तै युएईसंगको एकदिवसीय क्रिकेट सिरिज जितेपछि नेपालका कप्तान पारस खड्का र सोमपाल कामीले समत वरीयताको फाइदा उठाएको आईसीसीले जनाएको छ ।
आईसीसीले निकालेको नयाँ वरीयताको अलराउण्डरतर्फ अफगानिस्तानका रासिद खान शीर्ष स्थानमा रहदा बंगलादेशका शकिब अल हसन दोस्रो स्थानमा छन् ।
त्यस्तै अफगानिस्तान मोहमद नाबी तेस्रो, पाकिस्तानका मोहमद हाफिज चौथो र इंग्ल्यान्डका मोइन अली पाँचौ स्थानमा रहेका छन् ।
एकदिवसीय राष्ट्रको वरीयतामा इंग्ल्यान्ड शीर्ष, भारत दोस्रो र दक्षिण अफ्रीका तेस्रो स्थानमा रहेको छ । वरीयतामा दक्षिण न्युजिल्यान्ड र पाकिस्तान पाँचौ स्थानमा यथावत रहेका छन् ।
आईसीसीले निकालेको राष्ट्रको वरीयतामा नेपाल पहिलो पटक समावेश भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा २-१ को जित निकालेपछि नेपाल आईसीसीको वरियतामा परेको हो ।
युएईविरुद्धको सिरिज जितपछि नेपालले वरियताको १५ औं स्थान हासिल गरेको छ ।