पोखरा । मनकामना केबलकार पोखरा अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा आज विभागीय त्रिभुवन आर्मी क्लब र क्यामरुनको दाउफिन्स क्लब बीच प्रतिस्पर्धा हुँदैछ ।
पोखरा रंगशालामा हुने दोस्रो क्वाटरफाइनलमा दुवै टिम जित निकाल्दै सेमिफाइनल यात्रा गर्न चाहन्छन् । खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।
पल्सर 'ए' डिभिजन लिगमा चौथो स्थानको आर्मी र बिदेशी टोली दाउफिन्सबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
क्यामरुनी क्लबले च्यासल युथ क्लबलाई प्रिक्वाटरफाइनमा १–० गोल अन्तरले पराजित गर्दै विभागीय टोली आर्मीसंगको भेट तय गरेको हो । आर्मीले भने प्रतियोगितामा बाई पाएको थियो ।
आर्मीले यस सिजन विशाल मेमोरियल र मदन भण्डारी स्मृति इटहरी गोल्डकप जितिसकेको छ । यस्तै आर्मी सिमरा गोल्डकप र फिदिम गोल्डकपको उपविजेता समेत हो ।
प्रतियोगिताको विजेताले ७ लाख ५५ हजार पाउनेछ । उपविजेतालाई ४ लाख ५ हजारमा चित्त बुझाउने छ । प्रतियोगितामा 'ए' डिभिजन क्लब सहित ११ टिमको सहभागिता रहेको छ ।