भारतीय टोलीको बन्द प्रशिक्षणमा अटेनन् सुनिल

काठमाडौं। भारतीय फुटबलका उच्च गोलकर्ता सुनिल क्षेत्रीलाई बाहिर राख्दै नवनियुक्त प्रशिक्षक खालिद जमिलले काफा नेसन्स कप खेल्न ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।
घोषणा गरिएको ३५ सदस्यीय प्रारम्भिक टोलीमा उनी परेका छैनन्। प्रतियोगिता आगामी अगस्ट २९ देखि ताजिकिस्तान र उज्बेकिस्तानमा हुनेछ। तर, सुनिल बाहिर रहनुको अर्थ उनको अन्तर्राष्ट्रिय यात्रामाथि फेरि एकपटक प्रश्नचिह्न लागेको छ।
अखिल भारतीय फुटबल महासंघले यसबारे कुनै टिप्पणी गरेको छैन। तर, निर्णय पूर्ण रूपमा प्रशिक्षक जमिलकै हातमा रहेको जनाएको छ। ४० वर्षीय सुनिल हाल इन्डियन सुपर लिगमा बेङ्ग्लोर एफसीसँग आबद्ध छन्। तर, क्लबमै पनि अनिश्चितताको स्थिति छ।
लिगको आर्थिक संकटका कारण बेङ्ग्लोरले हालै पहिलो टिमका खेलाडीहरूको तलब रोकेको थियो। तर, गुरप्रीत सिंह सन्धु, राहुल बेके, रोशनसिंह नाओरेम, सुरेशसिंह वाङजाम र छिङलेनसाना सिंहजस्ता उनका सहकर्मी भने जमिलको सम्भावित सूचीमा परेका छन्।
सुनिलले गत वर्ष जुनमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका थिए। तर, तत्कालीन प्रशिक्षक मानोलो मार्क्वेजको आग्रहमा उनले यस वर्ष एसियन कप छनोट खेलमा पुनरागमन गरेका थिए। उनले चार खेल खेलेका थिए, जसमा माल्दिभ्सविरुद्धको ३–० को जितमा एक गोल पनि गरेका थिए।
तर, बंगलादेशसँगको गोलरहित बराबरी र हङकङसँगको हारपछि भारतको २०२७ एसियन कप यात्रा संकटमा परेको थियो। ३५ सम्भावित खेलाडीमध्ये अहिले २२ जना मात्र प्रशिक्षण क्याम्पमा पुगेका छन्। बाँकी खेलाडी डुरान्ड कप सकिएपछि मात्रै समावेश हुनेछन्।
मोहन बगानका अनिरुद्ध थापा, लिस्टन कोलाको र साहल अब्दुल समद अझै क्याम्पमा पुगेका छैनन्। त्यसैगरी, ईस्ट बेङ्ग्लका अनवर अली र जेक्सन सिंह तथा नर्थईस्ट युनाइटेडका जितिन एमएस पनि अनुपस्थित छन्।
भारत समूह ‘बी’ मा आयोजक ताजिकिस्तान, इरान र अफगानिस्तानसँग रहेको छ। भारतले पहिलो खेल अगस्ट २९ मा ताजिकिस्तानविरुद्ध खेल्नेछन्। त्यसपछि सेप्टेम्बर १ मा इरान र सेप्टेम्बर ४ मा अफगानिस्तानसँग भिड्नेछन्।
प्रतियोगिताको फाइनल र तेस्रो स्थानका लागि खेल सेप्टेम्बर ८ मा हिसोर र तास्कन्दमा हुने तय भएको छ।












-1762856022963.jpg&w=3840&q=75)
