क्यालेन्डर कार्यान्वयन गर्न खेलाडी संघको माग

काठमाडौं। नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) समक्ष फुटबल लिगको क्यालेन्डर तत्काल कार्यान्वयन गर्न माग गरेको छ।
मंगलबार एन्फाका महासचिव किरण राईलाई ज्ञापनपत्र बुझाउँदै संघले सहिद स्मारक ए, बी र सी डिभिजन लिग दुई वर्षभन्दा बढी समयदेखि ठप्प रहँदा खेलाडी, प्रशिक्षक, रेफ्री तथा फुटबलमा निर्भर हजारौं व्यक्तिहरू आर्थिक तथा पेशागत संकटमा परेको जनाएको छ।
संघका अनुसार लिग फुटबलको अभावले खेलाडीहरूलाई अनिश्चिततामा धकेलेको छ भने धेरै प्रतिभावान खेलाडी रोजगारीको खोजीमा विदेशिन बाध्य भएका छन्।
यसले राष्ट्रिय फुटबललाई दीर्घकालीन हानी पुर्याइरहेको छ। यसले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको प्रदर्शनमा नकारात्मक असर पारिरहेको संघको भनाइ छ।
ज्ञापनपत्रमा एन्फाले चाँडोभन्दा चाँडो सबै श्रेणीका क्लबहरूसँग समन्वय गरी लिग सञ्चालन गर्नुपर्ने र यसलाई खेलको भविष्य सुरक्षित गर्ने उच्च प्राथमिकतामा राख्नुपर्ने माग गरिएको छ। संघले यस विषयमा द्रुत कदम चाल्ने आशा व्यक्त गरेको छ।













