काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिग खेल्न संयुक्त अरब इमिरेट्स (युएई) बाट सिधै अष्ट्रेलिया जाने भएका छन् ।
घरेलु टोली युएईविरुद्धको तीन खेलको एकदिवसीय र टी-ट्वान्टी सिरिज सकेर सन्दीप नेपाल नआई अष्ट्रेलिया जाने भएका हुन् । घरेलु टोलीविरुद्ध दुवै सिरिज जित्दै नेपालले ऐतिहासिक सफलता हात पारेको थियो ।
नेपाली टोलीका टिम म्यानेजर रमन शिवाकोटीका अनुसार बिग बासका बाँकी लिग खेल खेल्न सन्दीप सोमबार अष्ट्रेलिया प्रस्थान गर्ने प्रस्थान गर्ने छन् ।
अष्ट्रेलियामा जारी बिग बास लिगमा सन्दीप मेलबर्न स्टार्सबाट खेलिरहेका छन् । बिग बासको सुरुवाती ४ खेल खेलेर सन्दीप बंगलादेश प्रिमियर लिग (बीपीएल) लिग खेल बंगलादेश आएका थिए । बीपीएलमा ६ खेल खेलेर सन्दीप युएई भ्रमणको लागि नेपाल फर्किएका थिए ।
बिग बासमा सन्दीपले ४ खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीपले बिग बासको ४ खेलमा ८ विकेट लिन सफल भएका थिए ।
यस्तै स्यलहेट सिक्सर्सबाट बिपिएल खेलेका सन्दीपले ६ खेलमा ४ विकेट लिन सफल भएका थिए ।
बिग बासमा सन्दीपको मेलबर्न स्टार्स टिम चौथो स्थानमा रहेको छ । मेलबर्न स्टार्सले आगामी शुक्रबार ब्रिसबेन हिटसंग खेल्ने छ ।