साहारालाई हराउँदै रेडस्टार अन्तिम ४ मा

इलाम। सहारा फुटबल क्लब पोखरालाई हराउँदै रेडस्टार क्लब झापा तेस्रो ताप्लेजुङ गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।
पहिलो पटक ताप्लेजुङ पुगेको पोखरेली क्लब २–० ले पराजित हुन पुगको हो। दुवै गोल रेडस्टारका सविनकुमार लुङ्गेली मगरले गरे। रोशन ठकुरीले पेनाल्टी बक्सभित्रबाट निकाल्दिएको पासलाई ७६औं मिनेटमा गोल गर्दै मगरले खाता खोले।
सहाराका खेलाडीले गोलकर्ता मगरलाई फाउल गरेपछि रेडस्टारले पेनाल्टी पाएको थियो। पेनाल्टी प्रहारमा गोल गर्दै मगरले झापालाई अन्तिम ४ मा प्रवेश गराए।
उनी नै म्यान अफ दि म्याच घोषित हुँदै नगद ७ हजार प्राप्त गरे। तेस्रो क्वार्टरफाइनल खेलमा लिजेन्ड फुटबल एकाडेमी सिलिगुडी भारत र चर्च ब्वाइज युनाइटेड भिड्ने छन्।
शनिबारको उद्घाटन खेलबाट आयोजक ताप्लेजुङलाई २–१ गोलले पराजित गर्दै द योङ ब्रदर्स क्लब इटहरी सुनसरीले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।













