लेवान्डोस्कीले मैत्रीपूर्ण खेल गुमाउने

काठमाडौं। बार्सिलोनाका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ह्यामस्ट्रिङको समस्याका कारण आइतबार हुने मैत्रीपूर्ण खेल गुमाउने भएका छन्। क्लबले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो।
बार्सिलोना सिजन सुरु हुनुअघि परम्परागत रूपमा आयोजना हुने जोन ग्याम्पर ट्रफी खेलमा आइतबार इटालियन क्लब कोमोसँग भिड्नेछ। ला लिगा अभियान भने बार्सिलोनाले साउन ३२ (अगस्ट १६) मा मायोर्काविरुद्ध सुरु गर्नेछ।
'लेवान्डोस्की आइतबारको खेलका लागि उपलब्ध हुने छैनन् र उनी कहिले फर्किने भन्ने कुरा उनको स्वास्थ्य पुन:स्थापनाले निर्धारण गर्नेछ,' क्लबको विज्ञप्तिमा भनिएको छ।
३६ वर्षीय पोलिस फरवार्ड लेवान्डोस्की बार्सिलोनामा आफ्नो चौथो सिजन सुरु गर्न लागेका छन्। उनले गएको सिजन ५२ खेलमा ४२ गोल गर्दै बार्सिलोनालाई ला लिगा उपाधि जिताउन मद्दत गरेका थिए।
त्यसमध्ये २७ गोल ला लिगामा गरेका थिए, जुन केलियन एमबाप्पेका ३१ गोलपछि दोस्रो उच्च थियो।













