काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज नेपालले जितेको छ ।
आइतबार भएको अन्तिम तथा तेस्रो टी-ट्वान्टीमा युएईलाई १४ रनले पराजित गर्दै नेपालले तीन खेलको सिरिज २-१ ले जितेको हो ।
योसंगै नेपालले पहिलो पटक टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जित्दै ऐतिहासिक सफलता प्राप्त गरेको छ । यसअघि नेपालले दुई राष्ट्रसंग टी-ट्वान्टी सिरिज खेलेपनि सिरिज जित्न सकेको थिएन ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपालले दिएको १०५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको युएईले पुरै १० ओभर खेल्दै ८ विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो ।
युएईका लागि शाइमन अनवरले सर्वाधिक ३० रन जोडे । यस्तै गुलाम सब्बिरले २५ तथा मोहमद बोताले ११ रन जोडे ।
नेपालका करण केसी, अविनास बोहरा र ललित नारायण राजवंशीले समान २/२ विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीको नाममा १/१ विकेट रह्यो ।
यसअघि बर्षाले प्रभावित बनेपछि अन्तिम तथा निर्णायक खेल १० ओभरमा झारिएको थियो । ओभर घटाईएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै १० ओभर खेल्दै ८ विकेट गुमाएर १०४ रन बनाएको थियो ।
नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २९ तथा सन्दीप जोराले २८ रन बनाए । यस्तै बिनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११, करण केसीले १० रन जोड्दा दिपेन्द्र सिंह ऐरीले २ रन बनाए । सोमपाल कामी र पवन सर्राफ सुन्य रनमा आउट भए ।
युएईका मोहमद नाभिद र सुल्तान अहमेदले २/२ विकेट लिए । अमीर हायत, जोहर खान र मोहमत बोताले १/१ विकेट लिए ।
योसंगै भ्रमणकारी नेपालले युएईविरुद्ध दुई सिरिजमा कब्जा जमाएको छ । यसअघि नेपालले एकदिवसीय सिरिज २-१ ले जितेको थियो । जुन नेपालको ऐतिहासिक एकदिवसीय सिरिज रहेको थियो ।