काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको अन्तिम तथा तेस्रो टी-ट्वान्टी क्रिकेटमा नेपालले घरेलु टोलीलाई जितका लागि १०५ रनको लक्ष्य दिएको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले पुरै १० ओभर खेल्दै ८ विकेट गुमाएर १०४ रन बनायो ।
नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २९ तथा सन्दीप जोराले २८ रन बनाए । यस्तै बिनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११, करण केसीले १० रन जोड्दा दिपेन्द्र सिंह ऐरीले २ रन बनाए । सोमपाल कामी र पवन सर्राफ सुन्य रनमा आउट भए ।
युएईका मोहमद नाभिद र सुल्तान अहमेदले २/२ विकेट लिए । अमीर हायत, जोहर खान र मोहमत बोताले १/१ विकेट लिए ।
बर्षा र हावाहुरीको कारण ढिला सुरु भएको खेल १० ओभरमा झारिएको हो ।
नेपाल र घरेलु टोलीबीचको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को अवस्थामा छ । अन्तिम खेल जित्दै नेपाल पहिलो टी-ट्वान्टी सिरिज जित्न चाहन्छ । यसअघि नेपालले तीन खेलको एकदिवसीय सिरिज २-१ ले जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो ।