काठमाडौं । घरेलु टोली पाकिस्तानविरुद्धको पाँच खेलको महिला नेत्रहीन टी-ट्वान्टी क्रिकेट सिरिज नेपालले जितेको छ ।
आइतबार भएको चौथो टी-ट्वान्टीमा पाकिस्तानलाई ९ विकेटले हराउँदै नेपालले एक खेल अगाबै सिरिज ३-० ले जितेको हो ।
इस्लामावादमा पाकिस्तानले दिएको १०२ रनको लक्ष्य नेपालले ८ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा विमला राईले अविजित ४२ रन जोडिन । मनकेसी चौधरी २५ रनमा अविजित रहिन । यस्तै मुना अर्यालले २२ रन बनाईन ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १०१ रन जोडेको थियो । पाकिस्तानका लागि किरनले १६ तथा फतिमाले १३ रन जोडिन । नेपालकी मुना अर्याल, आयुष्मा चौधरी र बिनिता राईले १/१ विकेट लिए ।
खेलमा नेपालकी मुना अर्याल भ्यालुएबल प्लेयर घोषित भए । प्लेयर अफ दि म्याच नेपालकी विमला राई घोषित भईन् ।
पाकिस्तानविरुद्धको चौथो खेलमा नेपालकी सुस्मा तामाङ, आशिका र आयुष्मा छेत्रीले डेब्यु गरेका थिए ।
सिरिज अन्तर्गत नेपालले यसअघि पहिलो र तेस्रो खेलमा १० विकेटको जित निकालेको थियो । दोस्रो खेल भने बर्षाको कारण रद्द भएको थियो ।
अब नेपालले घरेलु टोलीविरुद्ध सोमबार अन्तिम तथा पाँचौ खेल खेल्नेछ ।