काठमाडौं । मनकामना केबुलकार पोखरा कप खेल्न जापानको टिम काठमाडौं आईपुगेको छ । मोफसलमा सञ्चालित पोखरा कप खेल्न जापानको रिस्सो विश्वविद्यालयको टोली आज दिउँसो काठमाडौं आईपुगेको हो ।
पुर्व राष्ट्रिय खेलाडी वसन्त गौचनको पहलमा जापानको टोली नेपालमा खेल्नका लागि आएको हो । गौचनले जापानको टोकियोमा रहेको फन रुट्स एकेडेमीमा प्रशिक्षकको रुपमा काम गरिरहेका छन् ।
गौचनका अनुसार जापानको टिमले पोखरा कप मात्र खेल्नेछ । सो टिमले काठमाडौंमा एक मैत्रिपुर्ण म्याच समेत खेल्नेछ ।
‘रिस्सोले एउटा मात्र प्रतियोगिता खेल्नेछ । ११ तारिखमा काठमाडौंमा एक मैत्रिपुर्ण खेल खेल्नेछ । टिमको टुङ्गो लागिसकेको छैन ।’ विमानस्थल ओर्लिए लगत्तै गौचनले भने ।
रिस्सोले आगामी मंगलबार नेपाल पुलिस क्लबसंग प्रतिस्पर्धा गर्नेछ । विजेता टोली सेमिफाईनल प्रवेश गर्नेछ ।
झन्डै चार दशक पुरानो रिस्सो विश्वविद्यालय जापानको इस्ट युनिभर्सिटी लिगमा खेलिरहेको छ । गत वर्षमात्र टोलीले जे लिगमा खेल्ने खेलाडी उत्पादन गरेको थियो ।