काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) र नेपालबीचको अन्तिम तथा तेस्रो टी-ट्वान्टी खेल खराब मौसमका कारण ढिला सुरु हुने भएको छ ।
दुबईमा हावाहुरीसंगै वर्षा सुरु भएपछि नेपाल र युएईबीचको खेल ढिला सुरु हुने युएई क्रिकेट बोर्डले जनाएको छ । युएई क्रिकेट बोर्डले बर्षा रोकिएपछि खेल हुने वा नहुनेबारे तय हुने जनाएको छ ।
आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुने तय भएको थियो । तर, बर्षासहितको हावाहुरीले खेलको टस समेत हुन सकेको छैन् ।
नेपाल र घरेलु टोलीबीचको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को अवस्थामा छ । अन्तिम खेल जित्दै नेपाल पहिलो टी-ट्वान्टी सिरिज जित्न चाहन्छ । यसअघि नेपालले तीन खेलको एकदिवसीय सिरिज २-१ ले जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो ।
नेपालले हालसम्म दुई टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेलिसकेको छ । तर, सिरिज जित्न सकेको छैन ।