काठमाडौं । युएईका कप्तान रोहन मुस्तफा र भारत मुम्बईका प्रथम श्रेणी क्रिकेटर सागर त्रिबेदीले धनगढी स्टार्सबाट तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट खेल्ने भएका छन् ।
धनगढीले आइतबार प्रेस विज्ञप्ति निकाल्दै विदेशी खेलाडीको कोटामा रोहन र सागरलाई अनुबन्ध गरेको जनाएको छ ।
दायाँ हाते ब्याट्सम्यान र अफस्पिनर मुस्तफाले युएईको राष्ट्रिय टिमको लागि २७ एकदिवसीय अन्तर्राष्ट्रिय र २५ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलीसकेका छन्। उनले एकदिवसीयमा ६४२ रन तथा टी-ट्वान्टीमा ४११ रन बनाएका छन् । यस्तै बलिङतर्फ एकदिवसीयमा २८ विकेट तथा टी-ट्वान्टीमा १९ विकेट लिएका छन् ।
सागर त्रिबेदी सन् २०१५ को इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सको लागि छनौट भएका खेलाडी हुन्। उनि दायाँ हाते फास्ट बलर र बायाँ हाते ब्याट्सम्यान हुन् । उनले मुम्बई टिमको लागि खेलीसकेका छन् ।
धनगढी स्टार्सको रणनीतिक खेलाडी सोमपाल कामी रहेका छन् । यस संस्करणको डीपीएल आगामी माघ २६ गतेबाट धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुदैछ ।
देशकै सर्वाधिक पुरस्कार राशीको डीपीएलमा धनगढी स्टार्स, सीवाईसी अत्तरीया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन र बिराटनगर किंग्सले प्रतिस्पर्धा गर्ने छन् ।
टी-ट्वान्टी आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टिमले एक अर्को टोली प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोली प्ले अफमा छनोट हुनेछ । पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।
धनगढी स्टार्सको टिम : सोमपाल कामी ( रणनीतिक खेलाडी ) , पवन सर्राफ, सुनिल धमला, अमित श्रेष्ठ, सौरभ खनाल, बिपिन खत्री, हरि बहादुर चौहान, दिपेश श्रेष्ठ, राजु रिजाल, सन्दिप रजाली, रोबिन क्षेत्री, धिरज शाही, कृष्ण ऐयर