एजेन्सी । पाहुना टोली इंग्ल्यान्डविरुद्धको तीन खेलको टेष्ट सिरिज वेष्ट इण्डिजले जितेको छ । दोस्रो टेष्टमा इंग्ल्यान्डलाई १० विकेटले हराउँदै वेष्ट इण्डिजले सिरिज एक खेल अगाबै २-० ले जितेको हो ।
नर्थ साउथमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड पहिलो इनिङसमा ६१ ओभरमा अलआउट हुँदै १८७ रनमा समेटिएको थियो । इंग्ल्यान्डका लागि मोइन अलीले ६० तथा जोनी बैरस्टोले ५२ रन जोडे । वेष्ट इण्डिजका केमार रोचले ४ विकेट लिए ।
इंग्ल्यान्डलाई सस्तैमा समेटेर पहिलो इनिङस थालेको वेष्ट इण्डिजले अलआउट हुँदै ३०६ रन बनाएको थियो । उसका लागि डरेन ब्राभोले ५० रनको अर्धशतकीय इनिङस खेले ।
त्यसपछि आफ्नो दोस्रो इनिङस थालेको इंग्ल्यान्ड तेस्रो दिन १३२ रनमा समेटिएपछि घरेलु टोलीले जितका लागि मात्र १४ रनको लक्ष्य पायो । १४ रनको लक्ष्यसहित दोस्रो इनिङस थालेको वेष्ट इण्डिजले २ ओभर १ बलमा बिना विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै १० विकेटको जित निकाल्यो ।
यो जितसंगै वेष्ट इण्डिजले १० वर्षपछि पहिलोपटक इंग्ल्यान्डविरुद्धको टेष्ट सिरिज जितेको छ । यसअघि वेष्ट इण्डिजले सन् २००९ मा टेष्ट सिरिज जितेको थियो ।