एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना भ्यालेन्सियासंग २-२ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा कप्तान लियोनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको हो । क्याम्प नाउमा खेलको २४ औं मिनेटमा केभिन गामिरोले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३२ औं मिनेटमा डानी परेजोले पेनाल्टीमा गोल गर्दै भ्यालेन्सियालाई २-० को अग्रता दिलाए ।
भ्यालेन्सियासंग सुरुवाती ३२ मिनेट भित्रै २-० ले पछि परेपनि बार्सिलोना खेलमा फर्कियो । खेलको ३९ औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ६४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए ।
यो बराबरीसंगै लिग लिडर बार्सिलोनाले २२ खेलबाट ५० अंक जोडेको छ । र, बार्सिलोना दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा ६ अंकले अघि छ । एक खेल कम खेलेको एट्लेटिको ४४ अंक छ । भ्यालेन्सियाको ३० अंक छ ।
ला लिगा अन्तर्गत नै शनिबार राति सेल्टा भिगोले सेभियालाई १-० ले हराएको छ । यस्तै एथ्लेटिको बिल्बाओलाई रियल सोसीडाडले २-१ ले हराउदा लेभान्टे र गेटाफेले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।