एजेन्सी । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्स बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स पर्मासंग ३-३ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा सुरुवाती २ गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले पर्मासंग अंक बाड्नु परेको हो । अलिनाज स्टेडियममा खेलको ३६ औं मिनेट क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १-० ले अघि रहेको युभेन्ट्सका लागि ६२ औं मिनेटमा डानिली रुगानीले गोल गर्दै अग्रता २-० को बनाए । खेलको ६४ औं मिनेटमा पर्माका एन्टोनियो बारिल्लाले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
खेलको ६६ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत गोल गर्दै युभेन्ट्सलाई ३-१ को अग्रता दिलाए । योसंगै रोनाल्डो सिरी ए लिगमा यस सिजन सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा उक्लिएका छन् । यसै सिजन क्लब आएका रोनाल्डोले १६ गोल गर्दै शीर्ष स्थान ओगटेको हो ।
घरेलु टोलीले ३-१ को अग्रता बनाएको अवस्थामा पर्माका गेर्भिन्हो चम्किए । खेलको ७४ औं मिनेटमा गेर्भिन्होले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा गेर्भिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३-३ को बराबरीमा ल्याउदै पर्मालाई हारबाट जोगाए ।
यो बराबरीसंगै युभेन्ट्सले शीर्ष स्थानको अग्रता थप फराकिलो बनाउने अवसर गुमाएको छ । युभेन्ट्सले २२ खेलबाट ६० अंक जोडेको छ । दोस्रो स्थानको नापोलीको ५१ अंक छ । नापोलीले शनिबार राती साम्पडोरियालाई ३-० ले हराएको थियो । ११ औं स्थानको पर्माको २९ अंक छ ।