काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (आइतबार) टोलीसंग अन्तिम तथा तेस्रो टी-ट्वान्टी खेल्दै छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रदाँ नेपाल एकदिवसीय सिरिज जस्तै ऐतिहासिक टी-ट्वान्टी सिरिज जित्ने लक्ष्यमा हुनेछ ।
घरेलु टोलीसंगको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को अवस्थामा छ । अन्तिम खेल जित्दै नेपाल पहिलो टी-ट्वान्टी सिरिज जित्न चाहन्छ । यसअघि नेपालले तीन खेलको एकदिवसीय सिरिज २-१ ले जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो ।
नेपालले हालसम्म दुई टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेलिसकेको छ । तर, सिरिज जित्न सकेको छैन । बंगलादेशमा सम्पन्न सन् २०१४ को टी-ट्वान्टी विश्वकप खेलिसकेको नेपालले त्यही वर्ष हङकङसंग श्रीलंकामा ५ खेलको सिरिज खेलेको थियो । तर, साे सिरिजको चार खेल वर्षाको कारण रद्द भएको थियो । अन्तिम खेलमा भने नेपाल हङकङसंग २ विकेटले पराजित भएको थियो ।
यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्डविरुद्ध ४ खेलको टी-ट्वान्टी सिरिज खेलेको थियो । उक्त सिरिज नेपालले ३-१ ले गुमाएको थियो । त्यसैले नेपाललाई युएईमा ऐतिहासिक टी-ट्वान्टी सिरिज जित्ने पहिलो अवसर छ ।
नेपाललाई ऐतिहासिक सफलता प्राप्त गर्न घरेलु टोलीको कठिन चुनौती पन्छाउनु पर्नेछ । टी-ट्वान्टी सिरिजको अन्तिम खेल नेपाल र युएई दुवैका लागि महत्वपूर्ण रहेको छ । दुवै टोली सिरिज आफ्नो बनाउन चाहन्छ । दुवैका लागि अन्तिम खेल 'गर या मर'को स्थितिमा छ ।
युएई अन्तिम खेल जित्दै टी-ट्वान्टी सिरिज घरमै राख्न चाहन्छ । युएई एकदिवसीय सिरिज गुमाएको पीडा भुलाउन चाहन्छ ।
यता, नेपाल भने दुवै सिरिज जितेर घर फर्कन चाहन्छ । तर, युएईविरुद्ध सिरिज जोगाउन नेपालले ब्याटिङ लाइन सुधार गर्नु पर्ने देखिएको छ । बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि नेपाललाई सामान्य लक्ष्य पुरा गर्न समेत कठिन पर्दै आएको छ ।
पछिल्लो समय टी-ट्वान्टी क्रिकेटमा अभ्यस्त भएपनि नेपाली खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकिरहेको छैन् ।