एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा साबिकको विजेता वायर्न म्युनिख पराजित भएको छ । शनिबार राति भएको खेलमा वायर्नलाई वायर लिभरकुसेनले ३-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता उल्टाएर लिभरकुसेनले निकालेको हो । खेलको ४१ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै वायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा लिभरकुसेनले लगातार ३ गोल गर्दै वायर्न स्तब्ध बनायो ।
खेलको ५३ औं मिनेटमा लियोन बेलीले गोल गर्दै लिभरकुसेनलाई खेलमा फर्काए । खेलको ६३ औं मिनेटमा केभिन भोलाण्डले गोल गर्दै लिभरकुसेनलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८७ औं मिनेटमा लुकास अलारियोले गोल गर्दै लिभरकुसेनलाई ३-१ को जित दिलाए ।
लिभरकुसेनसंग पराजित भएसंगै वायर्नले शीर्ष स्थानको बोरुसिया डर्टमण्डसंगको अंक दुरी घटाउने मौका गुमाएको छ । दोस्रो स्थानको वायर्नको २० खेलबाट ४२ अंक रहेको छ । लिभरकुसेन ३० अंक जोडेर लिगको सातौं स्थानमा उक्लिएको छ ।
जर्मन बुन्डेस लिगा अन्तर्गत नै शनिबार लिग लिडर डर्टमण्ड फ्रान्कफर्टसंग १-१ गोलको बराबरीमा रोकिएको छ ।
खेलको २२ औं मिनेटमा मार्को रिउसले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । तर, खेलको ३६ औं मिनेटमा लुका जोभिकले गोल गर्दै फ्रान्कफर्टलाई खेल फर्काएका थिए ।
फ्रान्कफर्टसंगको बराबरीसंगै डर्टमण्डले २० खेलबाट ४९ अंक जोडेको छ । डर्टमण्ड दोस्रो स्थानको वायर्न म्युनिखभन्दा ७ अंकले अघि छ ।