भुटानको पोस्टमा इरानको ७ गोल

काठमाडौं। इरानले आइतबार सम्पन्न एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोट अन्तर्गत समूह ‘ए’ मा भुटानलाई ७–१ ले पराजित गर्दै प्रभावशाली जित निकालेको छ।
लगातार दुई खेल जितेर आएको भुटान योपटक इरानको गतिमा टिक्न सकेन। अब दुवै टोलीसँग ६–६ अंक रहेकाले बुधबारको निर्णायक खेलमा इरानले लेबननसँग खेल्नेछ भने भुटानले जोर्डनको सामना गर्नेछ।
खेलको सुरुआतमै इरानले आक्रमक शैली अपनायो। दोस्रो मिनेटमै जहरा घानबारीको पासमा जहरा अलिजादेहले साङ्गिता मोंगरलाई छक्काउँदै पहिलो गोल गरिन्। त्यसको चार मिनेटपछि अलिजादेहले दिएको क्रसमा फातेमेह शाबानले हेडरमार्फत गोल थपिन्।
१०औं मिनेटमा शाबानको प्रहार मोंगरले पोस्टमा धकेले पनि बल रिबाउन्डमा आएपछि नेगिन जान्दीले सहज गोल गर्दै इरानको अग्रता ३–० दिलाइन्। त्यसपछि केही क्षणका लागि भुटान खेलमा फर्कन खोज्यो।
१२औं मिनेटमा पेमा छिरिङले दायाँ भागबाट बल अघि बढाउँदै क्रस दिइन्, जसमा इरानी डिफेन्डर फातेमेह अदेलीको खुट्टामा लागेर बल बाउन्स भयो। डेकी ल्हाजोमको प्रहार गर्दै भुटानका लागि सान्त्वना गोल गरिन्।
३६औं मिनेटमा फातेमेह पासान्दिदेहको चिप पासमा जान्दीले मोंगरलाई बिट गर्दै चौथो गोल गरिन्। दोस्रो हाफमा इरानले आक्रामकता कायम राख्यो। जान्दीको एक प्रयास साइड नेटमा लाग्यो भने अलिजादेहको उत्कृष्ट प्रहार क्रसबारमा लागेर जाली चुम्न चुकेको थियो।
खेलको अन्त्यतिर इरानले तीन गोल थप्दै जित सुनिश्चित गर्यो। ८१औं मिनेटमा घानबारी, ८३औं मोहेद्देसेह जोल्फी र ८५औं मिनेटमा रुजिन टामरियनले गोल गर्दै इरानको जितलाई औपचारिकता प्रदान गरे।
यो जितसँगै इरानले अस्ट्रेलिया जाने सम्भावना अझ बलियो बनाएको छ।












