एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न एसिया कप फुटबलको फाइनलमा पराजित जापानिज फुटबल टोलीले प्रशंसनीय कार्य गरेको छ । शनिबार भएको फाइनलमा कतारसंग पराजित जापानले आफ्नो टिमको ड्रेसिङ रुम सफा गरेर प्रशंसनीय कार्य गरेको हो ।
अबुधाबीस्थित जयाद स्पोर्टस सिटी स्टेडियममा भएको फाइनलमा चार पटकको च्याम्पियन जापान कतारसंग ३-१ ले पराजित हुँदै उपविजेता बनेको थियो । तर, फाइनलमा पराजित जापानले रंगशाला छाड्ने बेला आफुले प्रयोग गरेको ड्रेसिङ रुमको सरसफाई गरेर छाडेको थियो । यस्तै जापानिज टोलीले ह्वाइट बोर्डमा ३ भाषामा 'धन्यवाद' लेखेर छाडेको थियो ।
जापानले ड्रेसिङ रुम सफा गरेर अरबी, इन्ग्लिश र जापानिज भाषामा धन्यवाद सन्देश छाडेको थियो । ड्रेसिङ रुम सफा गरेर धन्यवाद सन्देश छाडेको तस्बिर आयोजकले सार्वजनिक गरेपछि जापानिज टोलीको अहिले चर्चा चुलिएको छ ।
यसअघि रुस विश्वकपमा जापानका समर्थकले रंगशाला सफा गरेर चर्चा कमाएको थियो ।