काठमाडौं । भुटानमा हुने जिग्मे दोर्जे वाङ्चुक गोल्डकपमा नेपालबाट सहभागि हुने थ्री स्टार र आर्मीले सिधै क्वार्टरफाईनल खेल्ने भएका छन् । भुटान फुटबल महासंघले सार्वजनीक गरेको खेल तालिका अनुसार नेपालका दुवै टिमले सिधै क्वार्टरफाईनलबाट खेल्ने समिकरण तय भएको हो ।
विभागीय टिम आर्मीले पहिलो खेलमा फेब्रुअरी १५ मा पहिलो खेल खेल्नेछ । आर्मीले प्रि क्वार्टरफाईनलमा भिड्ने थिम्पु सिटी र भारत आसामको पिलग्रिम क्लबबीचको विजेतासंग अन्तिम ८ मा खेल्नेछ ।
अर्को क्लब थ्री स्टारले फेब्रुअरी १६ मा पहिलो खेल खेल्नेछ । प्रि क्वार्टरफाईनलमा भिड्ने भुटानको उग्यन एकेडेमी र डुक युनाईटेडबीचको विजेतासंग थ्री स्टारले अन्तिम ८ मा प्रतिस्पर्धा गर्ने तय भएको छ ।
काठमाडौंमा भएको सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टारले तेस्रो स्थानमा रहँदै र आर्मीले चौथो स्थानमा रहदै लिगको अन्त्य गरेको थियो । सहिद स्मारक ए डिभिजन लिगमा शीर्ष चार भित्र रहन सफल दुई क्लबलाई एन्फाले भुटानमा हुने गोल्डकपका लागि सिफारिस गरेको हो ।
नकआउट आधारमा सञ्चालन हुने प्रतियोगिताका खेल भुटान भारत सिमा क्षेत्र फुईटसोलिङ्गमा हुनेछ ।
भुटानको प्रतिष्ठित फुटबल प्रतियोगिता सन् २००६ यता हुन सकेको थिएन । सन् १९८७ बाट सुरु भएको प्रतियोगिताको पहिलो संस्करण नेपालको जनकपुर टिमले जितेको थियो । पछिल्लो समय भारतको वेस्ट बंगालले गोल्डकपको ट्रफी उचालेको थियो ।
गोल्डकपमा भुटान सहित नेपाल र भारतक टिमले सहभागिता जनाउनेछन् ।