काठमाडौं । दोस्रो संस्करणको मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले हात पार्याे । शनिबार इटहरी क्षेत्रीय रंगशालामा भएको खेलमा लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलो पटक इटहरी गोल्डकपको उपाधि उचालेको हो ।
आर्मीलाई जित दिलाउन टंक बस्नेत र कप्तान भरत खवासले गोल गरे । खेलको म्यान अफ दि म्याच त्रिभुवन आर्मी क्लबका डिफेन्डर विमल पाण्डे चुनिए ।
जितसँगै त्रिभुवन आर्मी क्लबले विभिन्न विधागत तर्फपनि आफ्नो रवाफ जमाएको छ ।
उसका ४ खेलाडीले उपाधि हात पार्दा उपविजेता मनाङले भने एक मात्रै ब्यक्तितग उपाधि हात पार्याे ।
ब्यक्तिगत उत्कृष्ट पुरस्कार पाउनेले २० हजार नगद प्राप्त गरे ।
उत्कृष्ट गोलरक्षक : विकेश कुथु (आर्मी)
उत्कृष्ट डिफेन्डर : सुरज विश्वकर्मा (मनाङ)
उत्कृष्ट मिडफिल्डर : सन्तोष तामाङ (आर्मी)
उत्कृष्ट स्ट्राइकर : भरत खवास (आर्मी)
उत्कृष्ट प्रशिक्षक : चुन बहादुर थापा (आर्मी)
यस्तै आयोजकले प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडी, उदयमान खेलाडी र सर्बाधिक गोलकर्तालाई पनि पुरस्कृत गरेको थियो । प्रतियोगिताको सर्बाेत्कृष्ट खेलाडी आर्मीका मिडफिल्डर तथा फाइनल खेलका गोलकर्ता टंक वस्नेत भए । उनले २५ हजार नगद सहित ४३ इन्चको टिभी प्राप्त गरे ।
उदयमान खेलाडीमा आयोजक राष्ट्रिय जागृति क्लबका उमेश राई भए । उनि २४ इन्चको टिभीबाट पुरस्कृत भए ।
यस्तै, प्रतियोगिताको सर्बाधिक गोलकर्ता त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास भए । उनले २५ हजार पाए ।