साफमा श्रीलंकाबाहेक सबै टोलीको वरीयता खस्कियो

काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) को श्रीलंकाबाहेक अन्य सबै टोलीको फिफा वरीयता खस्किएको छ।
फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा श्रीलंकाले ४ स्थान सुधार गरेको छ। नयाँ वरीयतामा श्रीलंका १९६ स्थानमा छ।
श्रीलंकाले पछिल्लो समय वरीयतामा आफूभन्दा माथिल्लो स्थानमा रहेका दुई टोली चाइनिज ताइपेई (६० स्थानमाथि) र ब्रुनाइ (१५ स्थानमाथि) लाई पराजित गरेको थियो।
एएफसी एसियन कप छनोटमा श्रीलंकाले चाइनिज ताइपेईलाई ३–१ ले पराजित गरेको थियो। त्यसअघि मैत्रीपूर्ण खेलमा ब्रुनाइमाथि १–० को कठिन जित हात पारेको थियो।
साफतर्फ भारत शीर्ष स्थानमा छ। भारत ६ स्थान तल खस्किँदै १३३औं स्थानमा पुगेको छ। भारतभन्दा पछि माल्दिभ्स १७१औं स्थानमा छ।
नयाँ वरीयतामा नेपाल १७६औं स्थानमा छ। यसअघि नेपाल १७५औं स्थानमा थियो।
नेपालीले पछिल्लो समय दुई अन्तर्राष्ट्रिय खेल खेलेको थियो। गत ५ जुनमा हङकङसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको नेपालले एएफसी एसियन कप छनोटमा लाओससँग पहिलोपल्ट २–१ को हार बेहोरेको थियो।
बंगलादेश १८४, भुटान १८६, श्रीलंका १९६ र पाकिस्तान २०१औं स्थानमा छ।












