काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो खेलमा पराजय व्यहोरेपनि पुनरागमन गर्दै ऐतिहासिक एकदिवसीय सिरिज जितेको थियो । पहिलो खेलमा पराजित नेपालले त्यसपछिको दुई खेल जित्दै तीन खेलको सिरिज २-१ ले बनाएको थियो ।
दुबईमा एकदिवसीय सिरिज जितेको नेपालले घरेलु टोलीविरुद्ध टी-ट्वान्टी सिरिज खेलिरहेको छ । तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को अवस्थामा रहेको छ ।
पहिलो खेल गुमाएको नेपालले दोस्रो खेल जित्दै सिरिज बराबरी गरेको हो । पहिलो खेल नेपाल २१ रनले पराजित भएको थियो । तर, शुक्रबार भएको दोस्रो खेलमा दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले उत्कृष्ट साझेदारी गरेपछि नेपालले ४ विकेटको जित निकालेको थियो ।
यस्तोमा नेपालले आइतबार (भोली) घरेलु टोलीविरुद्ध निर्णायक तथा अन्तिम टी-ट्वान्टी खेल्दैछ । र, नेपाललाई एकदिवसीय सिरिज जस्तै ऐतिहासिक टी-ट्वान्टी सिरिज जित्ने अवसर रहेको छ ।
नेपालले हालसम्म दुई टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेलिसकेको छ । तर, सिरिज जित्न सकेको छैन । बंगलादेशमा सम्पन्न सन् २०१४ को टी-ट्वान्टी विश्वकप खेलिसकेको नेपालले त्यहिँ वर्ष हङकङसंग श्रीलंकामा ५ खेलको सिरिज खेलेको थियो । तर, उक्त सिरिजको चार खेल वर्षाको कारण रद्द भएको थियो । अन्तिम खेलमा भने नेपाल हङकङसंग २ विकेटले पराजित भएको थियो ।
यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्डविरुद्ध ४ खेलको टी-ट्वान्टी सिरिज खेलेको थियो । उक्त सिरिज नेपालले ३-१ ले गुमाएको थियो । त्यसैले नेपाललाई युएईमा ऐतिहासिक टी-ट्वान्टी सिरिज जित्ने पहिलो अवसर छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा अन्तिम खेलका लागि मैदान उत्रदा नेपाल त्यो ऐतिहासिक सफलता प्राप्त गर्ने लक्ष्यमा हुनेछ । तर, नेपाललाई उक्त लक्ष्य प्राप्तिको लागि घरेलु टोलीको कठिन चुनौती पन्छाउनु पर्नेछ । नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउसो २:४५ बजे सुरु हुनेछ ।
टी-ट्वान्टी सिरिजको अन्तिम खेल नेपाल र युएई दुवैका लागि महत्वपूर्ण रहेको छ । दुवै टोली सिरिज आफ्नो बनाउन चाहन्छ । त्यसैले दुवैका लागि लागि यस सिरिज गर या मरको स्थितिमा हुनेछ ।
युएई अन्तिम खेल जित्दै टी-ट्वान्टी सिरिज घरेमै राख्न चाहन्छ । युएई एकदिवसीय सिरिज गुमाएको पीडा भुलाउन चाहन्छ ।
यता, नेपाल भने दुवै सिरिज जितेर घर फर्कन चाहन्छ । तर, युएईविरुद्ध सिरिज जोगाउन नेपालले ब्याटिङ लाइन सुधार गर्नु पर्ने देखिएको छ । बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि नेपाललाई सामान्य लक्ष्य पुरा गर्न समेत कठिन पर्दै आएको छ ।
पछिल्लो समय टी-ट्वान्टी क्रिकेटमा अभ्यस्त भएपनि नेपाली खेलाडीको प्रदर्शन सम्झन लायक छैन् । पहिलो खेलमा सन्दीप जोराको प्रदर्शन बाहेक अन्य खेलाडीको प्रदर्शन हेर्न लायक थिएन । यस्तै दोस्रो खेलमा दिपेन्द्र र पवनको साझेदारी मात्र नेपालको जितको आधार बनेको थियो ।